काठमाडौं । कार दुर्घटनामा परी क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा परि दुई जनाको मृत्यु भएको हो ।
उनीहरु उच्च शिक्षाका लागि क्यानडा गएका थिए । घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था सिकिस्त रहेको जनाइएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेको खुलेको छ । स्थानीय प्रहरीले गोपनीयताका कारण उनीहरूको नाम भने सार्वजनिक गरेको छैन। उनीहरु लण्डनस्थित फेन्सअ कलेजमा अध्ययनरत रहेका थिए।
स्थानीय एक मोटर पार्ट्स कम्पनीमा आंशिक समय कार्यरत उनीहरू बिहानीको ड्युटी गर्नका लागि उज्यालो नहुँदै कारमा कार्यस्थलतर्फ गइरहेका बेला दुर्घटना भएको थियो । सो दुर्घटनाका बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।