आर्थिक मन्दीका कारण मकवानपुरमा  छ सय १० उद्योग बन्द

आर्थिक मन्दीका कारण मकवानपुरमा  छ सय १० उद्योग बन्द

बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • आर्थिक मन्दीका कारण मकवानपुरमा  छ सय १० उद्योग बन्द
    बागमती । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा  छ सय १० वटा उद्योग बन्द भएका छन् । 
     
    मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।  
     
    आर्थिक मन्दी, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको लगत कट्टा बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताए ।
     
    मकवानपुरमा आव २०८०/८१ मा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ । सो आवमा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ गरी सात सय एक नयाँ उद्योग दर्ता भएका कार्यालय प्रमुख भुसालले बताए । आव २०७९/८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार नौ उद्योग व्यापार दर्ता भएका थिए ।
     
    आव २०८०/८१ मा उद्योगतर्फ ४६ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, एक हजार एक सय आठ वटा नवीकरण, चार सय ९८ वटाको पुँजी वृद्धि गरिएको थियो । 
     
    सो अवधिमा वाणिज्यतर्फ १९ वटा उद्योगको नामसारी, ३१ वटा उद्योगको ठाउँसारी, आठ सय ५८ वटा उद्योगको पुँजी वृद्धि, एक हजार चार सय २२ वटा उद्योगको नवीकरण भएको छ । 
     
    नयाँ उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा रु तीन करोड २२ लाख ४९ हजार नौ सय १० राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij