त्रिशूली । नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर ७ लाख रुपैयाँ फिरौती लिन आएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार गत सोमबार राति बिरामी लिन आफ्नो घर काहुलेबाट ककनी जाने क्रममा सूर्यबहादुरलाई नियन्त्रणमा लिएर ७ लाख रुपैयाँ फिरौती लिन आएका २ जना पक्राउ परेका र सो घटनामा संलग्न अन्य फरार भएकाले उनीहरुको खोजी भइरहेको छ ।
“सूर्यबहादुरलाई अपहरण गरेर जिल्लाको पञ्चकन्या गाउँपालिका–५ मा पुर्याएर आफन्तसँग फिरौती माग्ने क्रममा ७ लाख रुपैयाँ दिन सहमति भएपछि पीडित परिवारबाट त्यसको सूचना प्राप्त गरेका हौँ ।” उनले भने, “फिरौती बुझ्न आउने क्रममा ककनीका राजकुमार र शिवपुरीका चन्द्रबहादुरलाई नियन्त्रणमा लिएका छौँ ।”
उनीहरुलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ । घटनामा संलग्न हुनेहरूको सङ्ख्या धेरै भएकाले अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।