फ्रान्स दूतावासको टोली पोर्चुगलमा : लिस्बनबाटै दिन थाल्यो ‘कन्सुलर’ सेवा

फ्रान्स दूतावासको टोली पोर्चुगलमा : लिस्बनबाटै दिन थाल्यो ‘कन्सुलर’ सेवा

आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • फ्रान्स दूतावासको टोली पोर्चुगलमा : लिस्बनबाटै दिन थाल्यो ‘कन्सुलर’ सेवा

    लिस्बन । पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ ।

    दूतावासबाट आएको नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको दुई सदस्यीय टोलीले शुक्रबारदेखि लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा दिन सुरु गरेको हो । दूतावासले लिस्बनस्थित गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको कार्यालयमा घुम्ती सेवा सञ्चालन गरी कन्सुलर सेवा दिन सुरु गरेको हो । कन्सुलर सेवा सुरु भएसँगै प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायत कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सेवाग्राही नेपालीको भीडभाड लागेको छ ।

    प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीको सहजताका लागि परराष्ट्र मन्त्रालयसँगको समन्वयमा लिस्बनबाटै कन्सुलर सेवा दिन सुुुुरु गरिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले राससलाई जानकारी दिए । घुम्ती सेवाबाट दुई हजार बढीले सेवा लिने अनुमान गरिएको राजदूत भट्टराईले बताए ।

    दूतावासले सबै खर्चको व्यवस्थापन गरेर घुम्ती सेवा सञ्चालन गरेको जानकारी दिँदै उनले दस्तुरबापतको राजस्व रकम बैङ्कमार्फत अग्रिम भुक्तानी गरेर कागजात प्रमाणीकरणको सेवा लिन सकिने बताए । सरकारले तोकेको राजस्व दस्तुरबाहेक कुनै पनि अतिरिक्त शुल्क लिने दूतावासको नीति नरहेको बताउँदै राजदूत भट्टराईले राजस्व दस्तुरबाहेकको अतिरिक्त रकम कोही कसैलाई नबुझाउन सेवाग्राहीलाई आग्रहसमेत गरे । 

    टोलीले कन्सुलर सेवा विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, विवाह दर्तालगायतका कागजात प्रमाणीकरणका साथै अन्य कन्सुलरसम्बन्धी सेवा प्रदान गर्ने राजदूत भट्टराईले बताए ।

    टोलीले सेप्टेम्बर ३ तारिखसम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको  छ । घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij