गोसाइँकुण्डमा बिहानैदेखि भक्तजनको घुइँचो

गोसाइँकुण्डमा बिहानैदेखि भक्तजनको घुइँचो

सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • गोसाइँकुण्डमा बिहानैदेखि भक्तजनको घुइँचो

    रसुवा । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको  आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि ४३ सय मिटर उचाइमा अवस्थित सो पवित्र तीर्थस्थलमा  सबेरैदेखि स्नान एवं पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।  

    जनैपूर्णिमाकोे दिन पूजाआजा गर्नाले सम्पूर्ण देवताको दर्शन पाई मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन कुण्ड अर्थात् निलाद्री पर्वत पुग्ने गर्दछन् । भक्तजन स्नानका लागि निलाद्री पर्वत जानेक्रम जारी रहेको समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।

    लाङ्टाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाका अनुसार, गोसाइँकुण्ड आएका तीर्थयात्रीलाई निकुञ्जद्वारा सहजीकरण गरिएको छ । तीर्थस्थलमा भक्तजनको चाप बढ्ने भएका कारण प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा गस्ती परिचालन गरिएको छ।

    लेक लागेका  यात्रीलाई हिमालय उद्वार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर मार्फत् प्राथमिक उपचार गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बिरामी परी जोखिम अवस्था पुगेकालाई उद्वार टोली तयारी अवस्थामा राखिएको बताए । 

    तीर्थयात्रीका लागि एक सय ३० बस, तीन सय पाँच जिप, कार, भ्यान र चार सय २० मोटरसाइकल गोसाइँकुण्ड गाउँपालिका–६ ले व्यवस्थापन गरेको पार्किङभित्र रहेको प्रहरीले जनाएको छ । यस्तै यात्रुका लागि नपुग सवारीसाधन निजी क्षेत्रको यातायात व्यवस्था गर्ने चेम्बर अफ कमर्सले जनाएको छ ।

    यातायात व्यवस्था थप सहज पार्न निजी क्षेत्रका बस, टाटासुमो तथा माइक्रो बसको व्यवस्था गरेका कारण यात्रामा समस्या नआउने बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij