काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले कर बढाएपछि हेटौंडाका व्यवसायी बजार बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरू शटर बन्द गरेर शुक्रबार बिहानैदेखि सडकमा उत्रिएका छन् । कर वृद्धिको विरोध गर्दै उपमहानगरको कार्यालय परिसरमा धर्ना दिइरहेका छन् । उनीहरूले उपमहानगर कार्यालय परिसरमै नाराबाजी गरेका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलनमा उत्रिएका व्यवसायीले शटरको साँचो उपमहानगरलाई बुझाएका छन् ।
आन्दोलनमा जिल्ला सहकारी संघ सहित जिल्लास्थित १६ वटा विषयगत व्यावसायिक संस्थाका व्यवसायी सहभागी छन् ।
व्यवसायीको आन्दोलनलाई नगर कार्यपालिकाका सदस्यले पनि समर्थन गरेका छन् । ९४ मध्ये ४८ सदस्यले विशेष नगर सभा बोलाउन माग गरेका छन् ।
उपमहानगरले १३३ प्रतिशतसम्म कर वृद्धि गरेको छ । गत आर्थिक वर्षमा दुई हजार रुपैयाँ राजस्व तिर्दै आएका बजार क्षेत्रका कपडा सहित सिलाइबुनाइ व्यवसायीले अब तीन हजार रुपैयाँ राजस्व तिर्नुपर्ने भएको छ । गत वर्ष एक हजार तिरेका व्यवसायीले अबदेखि एक हजार ५०० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
बुटिक व्यवसायीलाई यस वर्षदेखि छुट्टै वर्ग बनाएर वार्षिक आठ हजार रुपैयाँ कर तोकिएको छ । गत वर्षसम्म एक हजार ५०० रुपैयाँ कर तिरिरहेका ड्राइक्लिनर्स व्यवसायीले अबदेखि तीन हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ ।
सहकारी संस्थाले गत वर्षसम्म वार्षिक दुई हजार ५०० रुपैयाँ कर तिर्नुपर्थ्यो । नयाँ वर्गीकरण अनुसार सहकारीले १२ हजार रुपैयाँसम्म कर तिर्नुपर्नेछ ।
त्यस्तै, १८ हजार रुपैयाँ कर तोकिएको छ। यसअघि १० हजार रुपैयाँ थियो । विशेषज्ञ क्लिनिकलाई १० हजार रुपैयाँ कर तोकिएको छ। गत वर्षसम्म ६ हजार रुपैयाँ थियो ।