भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई सबै सुविधाले युक्त बनाउनका लागि फराकिलो स्थानमा स्थानान्तरण गर्ने घोषणा गरेका छन् । मंगलबार विश्व अंगदान दिवसका अवसरमा अस्पतालले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले अस्पताललाई स्थानान्तरण गर्नुका साथै भक्तपुरलाई केन्द्र बनाएर देशका सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका हुन् ।

‘मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उप केन्द्र सञ्चालन हुनेछन्,’ मन्त्री पौडेलले भने, ‘तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।’ ‘यस(केन्द्र)ले मात्र देशैभर सेवा दिन सक्दैन,’ उनले भने, ‘त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौं ।’
उनले कोशीमा छिट्टै उप केन्द्र खुल्ने जानकारी दिंदै अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए । सीमित जनशक्ति,पूर्वाधार र श्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल भएका जनशक्ति र श्रोतलाई अधिक सक्रिय बनाएर जनतलाई बढी लाभ दिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताए । मैले यो कुरा स्टन्ट गर्न भनेको होइन, मन्त्री पौडेलले भने, यो आवश्यकता हो । पूर्वाधार, जनशक्ति र उपकरणको पक्षबाट व्यवस्थित गर्छौं ।
मन्त्री पौडेलले अस्पताललाई उपकरण तथा जनशक्ति थप्ने विषयमा आवश्यक पहल गर्न प्रतिबद्ध रहेको पनि बताए ।
कार्यक्रममा मन्त्री पौडेलले आफूले केही दिन अघि गरेको ‘स्वास्थ्य बिमामार्फत् ५ लाख रुपैयाँ सम्मको सेवा सुविधा दिने’ घोषणा पनि केवल ‘पब्लिसिटि स्टन्ट’ मात्र नभएर स्रोत सुनिश्चित समेत गरेर मात्र घोषणा गरिएको दाबी गरे । ‘धेरैजनाले बिमाको दायरा बढाउनुलाई स्टन्ट मात्र हो भन्ने भाष्य निर्माण गरे, तर मैले स्रोतको समेत विवरण उपलब्ध गराइसकेको छु ।’, उनले भने ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, संघीय सरकारका सांसद दुर्लभ थापा, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, चाँगुनारायणका मेयर जीवन खत्री लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै बागमतीका स्वास्थ्यमन्त्री किरण थापाले आफ्नो मतदान क्षेत्रमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मानवलाई नयाँ जीवन दिएर पुण्यको काम गरेको बताउँदै आफूले स्थानीय तहमा प्रतिनिधि हुँदाको समयबाट नै सहयोग गर्दै आएको दाबी गरे । उनले आगामी दिनहरुमा पनि आफूले स्थानीय तह साथै प्रदेशसँग पनि समन्वय गरेर सक्नेसम्मको सहयोग गर्ने वाचा गरे । प्रादेशिक अस्पतालहरुमा पनि डाइलाइसिस सेवा सञ्चालन गर्न लागिरहेको बताउँदै भक्तपुरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सकिने धारणा राखे । हाल एकै परिसरका सञ्चालनमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अस्पताल र क्यान्सर अस्पताललाई एकै बनाएर सञ्चालन गर्न सक्दा देशकै नमुना बन्न सक्ने विचार उनले कार्यक्रममा व्यक्त गरे ।

त्यस्तै, भक्तपुरका प्रतिनिधिसभा सांसद दुर्लभ थापाले पनि प्रत्यारोपण केन्द्रले उच्च गुणस्तरीय सेवा दिँदै आएको बताए । नेपालमै अंग प्रत्यारोपण गर्ने सुविधाले बिरामीहरुलाई विदेशमा उपचार गर्न जाने बाध्यताको अन्त्य भएको उनले बताए । सेवा गुणस्तरीय हुँदै गर्दा पनि पूर्वाधारको अभावका कारण धेरैले सेवा भने पाउन नसकेको उनले बताए । अस्पतालमा आएका बिरामीलाई सेवा दिन पर्याप्त संख्यामा अनुभवी चिकित्सकहरु रहेको भएतापनि भौतिक पूर्वाधार पर्याप्त नहुँदा क्षमता अनुसारको सेवा प्रवाह गर्न कठिनाइ भएको उनले बताए । उक्त समस्या समाधानका लागि आफूले केन्द्र सरकारमार्फत् पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमै अंग प्रत्यारोपणको सुविधा आरम्भले बिरामीहरुलाई विदेशमा गएर उपचार गराउनुपर्ने बाध्यताको अन्त्य भएको बताए । अंगदानबारे सहज कानुन आवश्यक भएको बताउँदै उनले नागरिकहरुलाई अंगदानको लागि प्रोत्साहित गर्न समय समयमा जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरिनुपर्ने बताए ।

कार्यक्रममा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले आफूहरुले बिरामीहरुलाई सक्नेसम्मको गुणस्तरीय सेवा दिइरहेको दाबी गरे । सञ्चालनको खर्च पनि अरुबाट नलिइ अस्पतालको आम्दानीबाटै भएको उनले बताए । श्रेष्ठले हाल अस्पतालको भवन साँघुरो हुँदा अस्पतालले धेरै मानिसहरुलाई सेवा दिन नसकिएको बताए । ‘अरु धेरै सहयोग चाहिँदैन, अस्पतालको भवन निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराउने हो भने ६ महिनाभित्रैमा अस्पतालकै कमाइबाट आवश्यक भवन निर्माण गरेर देखाउँछौँ’, उनले दाबी गरे ।

श्रेष्ठले केन्द्र स्थापना भएको १२ वर्ष समयावधिमा करिब १३०० मिर्गौला प्रत्यारोपण र हालसम्म २६ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न भइसकेको जानकारी गराए । अंग प्रत्यारोपण जस्तो संवेदनशील विषयलाई सातै प्रदेशमा विस्तार गर्न सके मात्र नेपाली बिरामीलाई राहत हुने बताउँदै उनले नेपालमा हालसम्म मस्तिष्क मृत्युपछि अंगदान गर्ने करिब २६०० जनाले मन्जुरीनामा दिइसकेको बताए ।
कार्यक्रमकै बीचमा स्वास्थ्य मन्त्री प्रदिप पौडेल, बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र संघीय सरकारका सांसद दुर्लभ थापाले अंगदान गर्ने घोषणा समेत गरेका छन् ।