श्रावणी मेला : डोलेश्वर, आशापुरीदेखि दत्तात्रयसम्म दर्शनार्थीको भीड

श्रावणी मेला : डोलेश्वर, आशापुरीदेखि दत्तात्रयसम्म दर्शनार्थीको भीड

सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • श्रावणी मेला : डोलेश्वर, आशापुरीदेखि दत्तात्रयसम्म दर्शनार्थीको भीड
    भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज साउनको पहिलो सोमबार दिनभर दर्शनार्थीको भीड लागेको छ ।
     
    साउनको पहिलो सोमबार डोलेश्वरमा दर्शनार्थीको भीड लागेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए। मेला भर्न आएका दर्शनार्थीलाई आधा घण्टामै दर्शन गर्नेगरी व्यवस्था गर्दै यसका लागि स्वयंसेवक परिचालन गरिएको उनले बताए ।
     
    डोलेश्वरमा ३८ दिने मेला अवधिभर करिब दुई लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान गरिएको जानकारी दिँदै समितिका अध्यक्ष बस्नेतले श्रावणी मेलामा शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो हुने भए पनि ती दिनमा लाइन बसेको एक घण्टाभित्र दर्शन एवं पूजा गरी सक्नेगरी व्यवस्थापन गरेको उनले बताए। 
     
    उहाँले विगतका वर्षहरुमा धर्मावलम्बीहरुबाट सङ्कलन भएको भेटी तथा चन्दाबाट श्रावणी मेलामा खर्च कटाएर करिब रु ५० लाख बचत गर्दै आएकामा अहिले भारतीय पर्यटकको समेत आगमन बढेकाले यस वर्ष भेटी तथा चन्दा गरेर रु एक करोड २५ लाख सङ्कलन हुने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताए ।
     
    मन्दिरमा पञ्चस्नान गर्ने दर्शनार्थीको हकमा भने पञ्चस्नानका सामग्रीहरुको रु एक हजार एक सयको रसिद काटेर मन्दिरको पूर्वी ढोकाबाट दर्शन गर्न सक्ने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले बताए। 
     
    आज दिनभरको मेलासँगै २०६६ साल भदौ ६ गते यस मन्दिरलाई केदारनाथको शिर घोषणा गरेको दिनको अवसरमा भदौ ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने छ । त्यस दिन डोलेश्वरको विशेष पूजाका साथै विविध कार्यक्रम र श्रावणी मेलाको समापन समारोह हुँदैँ आएको छ । 
     
    त्यसैगरी, सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि बिहानदेखि दर्शनार्थीको भीड लागेको छ । मनोकाङ्क्षा पूरा गर्ने मन्दिरका रुपमा लिइने यस मन्दिरमा दर्शन एवं पूजा गर्न आज हजारौं दर्शनार्थीको भीड लागेको हो । 
     
    यता भक्तपुर नगरपालिकामा रहेको ब्रह्मा, विष्णु र महादेवको भिमूर्तिको स्वरुप रहेको मानिने गुरु दत्तात्रय मन्दिरमा पनि आज हजारौँको भीड लागेको छ । साउनको सोमबार मेला लाग्ने यस मन्दिरमा आज बिहानदेखि झरीको प्रर्वाह नगरी दर्शनार्थीको भीड लागको हो । करिब एक किलोमिटर लामो लाइन व्यवस्थापन गर्न स्वयंसेवक र प्रहरी परिचालन हुनाका साथै टोकनको व्यवस्था गरिएको छ ।
     
    यस मनिदरमा लाइन बस्नेहरुलाई नम्बरसहितको टोकन वितरण गर्ने र त्यही टोकन नम्बरका आधारमा पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएकाले लामबद्ध महिलाहरुले सहज पूजा तथा दर्शन गरेको स्थानीय कमला श्रेष्ठले जानकारी दिए । 
     
    त्यस्तै, भक्तपुरका गुप्तेश्वर, सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वर, नन्दिकेश्वर, लटरम्मेश्वर, सुवर्णेश्वर, कैलाशेश्वर, चरखण्डीश्वरलगायत मन्दिरमा पनि आज दिनभर मेला लागेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij