काठमाडौं । बागमती प्रदेशमा सात वर्षपछि पहिलोपटक कांग्रेसले नेतृत्व गर्ने अवसरमा पाउँदै छ । २९ माघ ०७४ मा पहिलोपटक तत्कालीन नेकपाका डोरमणि पौडेल मुख्यमन्त्री बनेका थिए । त्यसयता बागमतीले तीनजना मुख्यमन्त्री पाए पनि कांग्रेसले त्यो अवसर पाएको थिएन । यसपटक भने कांग्रेस र एमालेबीच बनेको नयाँ सत्तासमीकरणले बागमतीमा कांग्रेसले नेतृत्व गर्ने अवसर पाउँदै छ ।
बागमतीका मुख्यमन्त्री शालीकराम जमकट्टेलले विश्वासको मत नपाउने भएपछि आजै नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको छ । जमकट्टेलले विश्वासको मत नपाउने निश्चित भएपछि कांग्रेसका बहादुर सिंह लामाले दाबी पेश गर्ने भएका हुन् ।
लामा संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बन्ने गरि गठबन्धनभित्र सहमति जुटेको बताइएको छ ।
लामा नै मुख्यमन्त्री बन्नेगरी कांग्रेस एमालेले सबै तयारी पुरा गरिसकेको छ । लामाले दाबी पेश गरेलगत्तै प्रदेश प्रमुखले नियुक्त गर्नेछन् ।
मुख्यमन्त्रीको सपथसँगै सबै मन्त्रीको नियुक्ति र सपथको तयारी समेत गरिएको छ ।
एमाले र कांग्रेसबीच ६ – ६ वटा मन्त्रालय लिने सहमति भएको बताइएको छ ।
तामाङ र नेवारी भाषालाई प्रदेशको सरकारी भाषा बनाइएको बागमतीमा पहिलो पटक तामाङ समुदायबाट लामा मुख्यमन्त्री बन्न लागेका हुन् ।
कांग्रेसका ३७ र एमालेका २७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय गएर आजै दाबी पेश गरिने कांग्रेसले जनाएको छ ।