भिजिट भिसा प्रकरणमा सात अध्यागमन अधिकृतसहित २२ विरुद्ध आज मुद्दा दायर हुने

भिजिट भिसा प्रकरणमा सात अध्यागमन अधिकृतसहित २२ विरुद्ध आज मुद्दा दायर हुने

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • भिजिट भिसा प्रकरणमा सात अध्यागमन अधिकृतसहित २२ विरुद्ध आज मुद्दा दायर हुने

    काठमाडौँ । भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध आज मुद्दा दर्ता हुने भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो । 

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भिजिट भिसा प्रकरणको अभियोजन गर्ने अन्तिम तयारी गरेको हो । बुधबार सो प्रकरणको अनुसन्धान शुरु भएको ६० दिन पुगे पनि उच्च अदालत पाटनका न्यायाधिशको निधनका कारण अदालत विदा भएका कारण बिहीबार मुद्दा दर्ता गर्न लागिएको बताइएको छ ।  

    जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पठाई सकेको छ । सोही प्रतिवेदनका आधारमा सरकारी वकिलले बिहीबार काठमाडौँ जिल्ला अदालतमा लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो ।

    स्रोतका अनुसार, त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत अध्यागमन अधिकृतहरु बिमल पौडेल, बिष्णु अर्याल, विकाश डंगोल, नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, पिताम्बर रिमाल र सुजन फागो तथा पहिले अध्यागमन कार्यालयमा कार्यरत रही हाल राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत शाखा अधिकृत तारा बहादुर कुँवरलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको छ ।

    सो प्रकरणमा दुुई लाख रुपैयाँ बुझिसकेको अवस्थामा अध्यागमन अधिकृत नरवीर खड्का पक्राउ परेपनि  अन्य अध्यागमन अधिकृतहरु भने फरार छन् । नरवीर खड्काकै बयानका आधारमा अन्य अध्यागमन अधिकृत विरुद्ध समेत मुद्दा दायर हुुन लागेको हो । त्यसबाहेक भिजिट भिसाकालगि सेटिङ मिलाउँने, नक्कली कागजात तयार पार्ने र नक्कली कागजात तयारी गरी विदेश जान खोज्ने समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको बताइएको छ ।

    नक्कली कागजात तयार पार्ने र अध्यागमनमा सेटिङ मिलाउने चितवन खैरहनीकी गिता शाह र काठमाडौँ तीनकुनेका अरुण दाहाल बिरुद्ध मुद्धा दायर गर्न लागिएको हो । त्यसैगरी अध्यागमनमा सेटिङ मिलाउनेहरु मिर्चौया सिरहाका सरोजकुमार यादव, दोरम्बा ७, रामेछापका पदम लामा, पाँचखाल ५, काभ्रेपलाञ्चोकका मनोज तामाङ, चापाकोट नगरपालिका १, स्याङ्जाका रामप्रसाद भण्डारी बिरुद्ध पनि मुद्धा दायर गरिने भएको छ ।

    त्यस्तै सत्यवती ७, गुल्मीका दिनेश ज्ञवाली, वालिङ ५, स्याङ्जाका रविन अर्याल, पथरी शनिश्चरे ७, मोरङका विनोद कार्की, धर्मदेवी नगरपालिका, संखुवासभा घर भई हाल कामनपा ९ सिनामंगलस्थित होटल बाल्टिक ईन होटलका सञ्चालक केदारबहादुर खड्का, सिमरा १५ बाराका कौशिला मगर, माहात्या दुधकोशी ४, सोलुखुम्बुकी लक्ष्मी राई र कमलामाई ५, सिन्धुलीकी रिता दमाईविरुद्ध मुद्दा दर्ता गर्न लागिएको जनाइएको छ । 

    अनुसन्धानका संलग्न प्रहरीका अनुसार, विभिन्न व्यक्तिहरुले संगठित समूह बनाई भिजिट भिसाका नाममा रकम लिएर मानव तस्करी गर्ने गरेको खुलेको छ । उनीहरुले दैनिक २० देखि एक सय ५० जनासम्मलाई सेटिङमा पठाउने गरेका थिए । त्यसरी सेटिङमा पठाउँदा पुरुषबाट प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ र महिलाबाट प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म कमिसन पाउने गरेको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij