भक्तपुर । आर्थिक वर्ष २०८०/८१ मा भक्तपुरको सूर्यविनायक नगरपालिकाले २७ करोड रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्ममा नगरपालिकाले २७ करोड ५० हजार ४७४ रुपैयाँ बराबर राजस्व संकलन गरेको हो ।
नगरपालिकाले विभिन्न शिर्षकमा असारअघिका ११ महिनामा नगरको आन्तरिक आम्दानी २४ करोड ५४ लाख १६१ रुपैयाँ रहेको थियो । असार एकै महिनामा २ करोड ९९ लाख ९६ हजार ३१२ रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाकी उपप्रमुख सरिता तिमसीना भट्टराइले जानकारी दिइन् ।
असारमा कुन शिर्षकमा कति संकलन ?
सूर्यविनायक नगरपालिकाले असार महिनामा सम्पत्ति करबापत ३० लाख ६३ हजार रुपैयाँ बराबर रकम संकलन गरेको छ । त्यस्तै, भूमिकर/मालपोतबापत ५४ हजार रुपैयाँ संकलन भएको नगरपालिकाले जनाएको छ । एकै महिनामा घरजग्गा बहाल कर बापत ५१ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिए ।
गत आर्थिक वर्षको अन्तिम महिनामा नगरपालिकाले व्यवसाय रजिष्ट्रेसन दस्तुरबापत ५० लाख ३७ हजार रुपैयाँ संकलन गरेको छ । त्यस्तै, व्यवसाय कर बापत २ करोड ३२ हजार रुपैयाँ संकलन भएको लुइँटेलले बताए ।
त्यस्तै, नक्सापास दस्तुर शिर्षकमा २९ लाख १८ हजार रुपैयाँ र सिफारिस दस्तुरबापत ४५ लाख ४६ हजार रुपैयाँ संकलन भएको छ । अन्य सेवा शूल्कबापत १५ हजार रुपैयाँ र अन्य दस्तुरबापत ७८ लाख २४ हजार रुपैयाँ संकलन भएको नगरपालिकाले जनाएको छ ।
साथै, प्रशासनिक दण्ड र जरिवाना जफत आदिबाट संकलन भएको १० हजार रुपैयाँसहित नगरपालिकाले असारमा मात्रै २ करोड ९९ लाख ९६ हजार रुपैयाँ संकलन भएको अधिकृत लुइँटेलले जानकारी दिएका छन् ।