काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङबाट फर्किदै गरेका ३२ वर्षका डम्बबहादुर शाहलाई इलामबाट पक्राउ गरेको हो ।
क्यास एपमार्फत उनले २ वर्षमा १ अर्ब ४९ करोडको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।
अनलाइनमार्फत ‘पार्शल पठाएको छु’ भनेर पीडितलाई विश्वास दिलाएपछि सामान छुटाउन पैसा डिपोजिट गर्न लगाउने गिरोहसँग शाहको ‘कनेक्सन’ भेटिएको छ । पार्सल पठाउने नाममा ठग्ने गिरोहले डम्बरको खातामा पैसा डिपोजिट गर्न लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष रहेको छ ।
ठग्ने समूहले पार्सल हिँडेको भन्ने र भन्सारले सामान रोकेको बहाना बनाएर ठग्दै आएका छन् । त्यसबारे अनुसन्धान गर्दा शाहले चारवटा विकल्प दिएर ठगीमा संलग्न आरोपीहरूको रकमको कारोबार गर्ने गरेको भेटिएको छ ।