काठमाडौँ । प्रहरी समायोजन प्रक्रिया छिटो सम्पन्न गर्न सङ्घीय गृहमन्त्री तथा प्रदेशका गृहमन्त्रीबीच छलफल भएको छ । सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रदेश गृहमन्त्रीबीच भएको हो ।
छलफलले प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढाउने निर्णय गरेको जनाइएको छ । बैठकले मुलुकको शान्तिसुरक्षालाई थप सुदृढ बनाउने निष्कर्ष निकाल्दै सङ्घीय गृह मन्त्रालय र प्रदेशका सुरक्षासँग सम्बन्धित मन्त्रालयले थप सहकार्य गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
बैठकले प्रहरी समायोजन ऐन र नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय गर्ने सम्बन्धी ऐनलाई समयानुकूल बनाउने तथा शान्ति सुरक्षासँग महत्व राख्ने नेपाल प्रहरी ऐन, स्थानीय प्रशासन ऐन यथाशीघ्र समयानुकुल बनाउँने निर्णय गरेको बताइएको छ । बैठकपछि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरी समायोजनका सम्बन्धमा महत्वपूर्ण छलफल भएको जानकारी दिए ।
प्रहरी समायोजन र नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय गर्ने सम्बन्धी ऐन २०७६ सालमा जारी भए पनि अहिलेसम्म प्रहरी समायोजन सम्पन्न हुन नसक्नु बिडम्बना भएको श्रेष्ठको भनाई थियो । यही माघ १७ गते बस्ने राष्ट्रिय समन्वय परिषद्को बैठकले प्रहरी समायोजनलाई टुङ्गो लगाउने विश्वास प्रदेश गृहमन्त्रीहरुले लिएका छन् । छलफलमा सबै प्रदेशका आन्तरिक मामिला तथा गृह प्रशासन हेर्ने मन्त्री, गृह मन्त्रालयका सचिव, प्रहरी सङ्गठनका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।