म्याग्दी । बेनी बजारमा भएको हत्या घटनामा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाउँपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ बेनीको न्यूरोडमा चक्कु प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्नताको आरोपमा पक्राउ परेकाको विवरण प्रहरीले सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न भएको अभियोगमा पक्राउ पर्नेमा धवलागिरि गाउँपालिका–४ का अमृत पुर्जा, शङ्कर घर्ती, रघुगङ्गा–७ का १९ वर्षीय उत्सव पुन र मङ्गला गाउँपालिका–२ का २३ वर्षीय जीवन जिसी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई ज्यानसम्बन्धी कसुर÷मुद्दा शीर्षकअन्तर्गत जिल्ला अदालतबाट बिहीबारदेखि पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार छातीमा चक्कु प्रहारबाट सख्त घाइते भएका गर्बुजा उपचारका लागि बेनी अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोहि घट्नामा परेर थप दुुई जना घाईते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।