काठमाडौं । नेपाल प्रहरीले तीन असईसहित २४ प्रहरी सम्पर्कविहीन भएको भन्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन सो सूचना प्रकाशित गरेको हो ।
प्रहरी महनिरीक्षकको सचिवालयले बुधवार प्रकाशित गरेको सूचनामा तीन जना प्रहरी सहायक निरीक्षक असई, तीन प्रहरी हवलदार, तीन जना प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको जनाएको छ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो। प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ।
