वागमती । पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै गएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा ५० प्रतिशत मात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि जिल्लमा प्रायः महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउनेक्रम बढेको हो ।
अचेल दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग व्यापार दर्ता हुने गरेकामा करिब ७० प्रतिशत उद्योग व्यापार महिलाकै नाममा दर्ता हुने गरेको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले बताए ।
उनले पुरुषका नाममा उद्योग व्यापार दर्ता गराउँदा बढी दस्तुर लाग्ने भएकाले महिलालाई प्रमुख बनाएर व्यापार दर्ता गराउनेक्रम बढेको जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा मकवानपुरमा ३ सय २८ नयाँ उद्योग दर्ता भएकामा त्यसमध्ये १ सय ४८ व्यवसायको मालिक महिला छन् ।
यस्तै चालु आर्थिक बर्षको वाणिज्यतर्फ २ सय ९१ नयाँ व्यवसायी दर्ता हुदाँ १ सय ६१ व्यवसायीको सञ्चालक महिला नै रहेको छ । महिलाका नाममा दर्ता भएका व्यवसायतर्फ अधिकांश जेनरल स्टोर्स, सिलाइकटाइ टेलरिङ, ब्युटीपार्लर रहेका छन् भने उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालन बढिरहेको छ । यसले पछिल्लो समय महिलालाई उद्योग व्यवसायको मालिक बनाउनेक्रम बढेको पुष्टि गरेको छ ।
सरकारले महिलाका नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुरमा छुट दिनु, स्थानीय प्रशासनले पनि उद्योग व्यवसायी दर्ताका लागि कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाबाट उद्योग व्यवसायमा ऋण लगानी सहज हुनसक्नेलगायत कारण घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गराउनेक्रम बढेको प्रमुख भुसालको कथन छ ।
“घरकै काममा मात्र सीमित रहँदै आएकी महिलालाई उद्योग पहिलापहिला महिलालाई उद्योग व्यापारको मालिक बनाउनु हुँदैन भन्ने समाजमा मानसिकता थियो”, स्थानीय बुद्धिजीवी हरिप्रसाद रिजालले भने, “तर अहिले त्यो मानसिकता हट्दै गएकाले महिलालाई उद्योग व्यापारको मालिका बनाउन थालिएको छ ।” यस अवधिमा उद्योगतर्फ ३३ वटा उद्योगको नामसारी, २४ वटा ठाउँ सारी, ९ सय ३४ वटा नवीकरण, ४ सय ५१ वटाको पुँजीवृद्धि, ६७ वटाको प्रतिलिपि, एक सय ६७ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै सो अवधिमा वाणिज्यतर्फ १६ वटा को नामसारी, २५ वटा उद्योगको ठाउँ सारी, ७ सय ७७ वटा उद्योगको पुँजी वृद्धि, १ हजार २ सय १४ वटा उद्योगको नवीकरण, दुई सय सात वटा उद्योगको लगत कट्टा, तथा ४१ वटा उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालको भनाइ छ ।
नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायतका शीर्षकबाट यस अवधिमा २ करोड ६३ लाख २२ हजार ३ सय ५२ रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताए । गत आर्थिक वर्ष २०७९र८० मा उद्योगतर्फ ५ सय ७९ नयाँ उद्योग दर्ता, १ हजार ५६ उद्योगको नवीकरण, १ सय १० उद्योगको लगत कट्टा तथा वाणिज्यतर्फ चार सय ३० नयाँ दर्ता, १ हजार ४ सय ७ वटाको नवीकरण र १ सय ७३ वटाको लगत कट्टा गरिएको थियो ।