काठमाडौं । हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवालसहित ३ जना पक्राउ परेका छन्। अग्रवाललाई काठमाडौंको क्षेत्रपाटी र अन्य दुई जनालाई न्युरोड लगायतका क्षेत्रबाट राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो।
अरु २ जनाको नाम भने खुलाइएको छैन । अग्रवालको समूहले हुण्डी र क्रिप्टो करेन्सीको कारोबार गर्दै आएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट २ करोड भन्दा बढी नेपाली रूपैयाँ र तीन हजार अमेरिकी डलर बरामद भएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
अवैध धन्दामा लागेको आशंकामा उनलाई पहिलेदेखि नै विभागको टोलीले निगरानीमा राखेको थियो । गएराति कारोबार गरिरहेकै अवस्थामा रंगेहात पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेकाहरुविरुद्ध शुक्रबार थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिने विभागको तयारी छ ।