काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा कास्की प्रहरीले दुई जनाविरुद्ध हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
पोखरा महानगरपालिका–४ नाकोमुखस्थित सञ्चालनमा रहेको सहकारीको सञ्चालक समितिका पदाधिकारीसमेतले बचत रकम फिर्ता नगरेको र हिनामिना गरेको जाहेरी अनुसार पक्राउ परेका दुई जनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त ठगी प्रकरणका प्रतिवादी मादी गाउँपालिका–१० का ३९ वर्षीय शिवबहादुर गुरुङ र स्याङ्जाको गल्याङ–९ का ४२ वर्षीय भविश्वर अर्यालमाथि अनुसन्धान जारी रहेको छ । गुरुङ सहकारीको सञ्चालक समितिका पूर्व सदस्य हुन् भने अर्याल वर्तमान सदस्य हुन् ।
१७ गते कास्की जिल्ला अदालतमा उनीहरु आफैं उपस्थित भएको र उनीहरुको बयान कार्य नसकिएको हुँदा जिल्ला कार्यालय कास्कीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।