काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विशेषगरी बागमती र गण्डकी प्रदेशका केही सडकखण्डमा यातायात प्रभावित भएको छ ।
प्रहरीका अनुसार गत भदौ १० गते आएको बाढीका कारण रसुवा जिल्लाका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । ती सडकखण्ड अर्को सूचना जारी नभएसम्म सञ्चालनमा नआउने जनाइएको छ ।
त्यस्तै, असोज १० गते बिहान ५ः५० बजे रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
असोज १४ गते अपराह्न ४ः४५ बजे बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा पहिरो गएपछि कालीगण्डकी करिडोर एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । उक्त सडकमा ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था छ ।
मनाङमा पनि बाढीका कारण सडक प्रभावित भएको छ । असोज १८ गते अपराह्न ४ बजेपछि बेंसीसहर हुँदै खाङसार जाने सडकखण्ड हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अवरुद्ध तथा प्रभावित सडकखण्ड खुलाउन र यातायात सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।
यात्रामा निस्कनुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
