‘घिउ, चाकु र तरुलसँग कविता’मा वसन्त गौतम

‘घिउ, चाकु र तरुलसँग कविता’मा वसन्त गौतम

सोमवार, माघ १ २०८०
सोमवार, माघ १ २०८०
  • ‘घिउ, चाकु र तरुलसँग कविता’मा वसन्त गौतम
    पोखरा । पोखरामा क्रियाशील साहित्यप्रेमीको ‘पुच्छारसिटे अभियान’अन्तर्गत आज ‘घिउ, चाकुु र तरुलसँग कविता’ मा कवि डा वसन्त गौतमले कविता वाचन गरेका छन् । पुछारसिटे अभियान, पोखराद्वारा आयोजित एकल कविता वाचनको नाम नै थियो– ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा वसन्त’ । पुछारसिटे अभियानले आयोजना गर्ने एकल कविता वाचनको आठौँ शृङ्खलामा कविता वाचकका रूपमा कवि वसन्त गौतमलाई ल्याइएको थियो । अभियानका संयोजक सञ्जीव पौडेलका अनुसार, विभिन्न साहित्यिक प्रतिभालाई अभियानका माध्यमबाट अघि सार्ने गरिएको छ। कार्यक्रममा पछाडिको सिटबाट उठेर कविता सुनाउँदै अगाडि आएका गौतमले सुुरुमा 
     
    “जुनेली साँझ
    म यात्राको तयारीमा छु
    लाग्छ,
    म सधैँभरि यात्राको तयारीमा छु
    भगवान 
    जीवन के हो 
    यात्रा वा यात्राको तयारी ” 
     
    भन्दै आफ्नो कविता वाचन सुरु गरे ।  कविता वाचनकै कममा आफ्ना जीवनका भोगाइ र अनुुभवसहित करिब डेढ दर्जन कविता प्रस्तुत गरेका गौतमले प्रेम, समाजका विद्यमान अवस्था, बेथितीका साथै राजनीतिक विसङ्गति आदिका बारेमा घोचपेच गरेका थिए । 
    विसं २०७४ मा स्थापित अभियानले साहित्य, शिक्षा र पर्यटनका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । संस्थाले हरेक असार १५ मा दही, चिउरासँग कविता र माघ १ का घिउ, चाकु र तरुलसँग कविता गरी दुई एकल कविता वाचन नियमित आयोजना गर्दै आएको छ । यसअघि पुुछारसिटे अभियानअन्तर्गत प्रकट पङ्गेनी ‘शिव’, अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीक’ एकल कविता वाचनमा प्रस्तुत भइसकेका छन् ।
     
    चिउरा, तरुल, सखरखण्ड, खुँदो, घिउ, चाकु, तिलको लड्डु आदि खानेकुरासमेतको व्यवस्था गरिएको कार्यक्रममा कवि तीर्थ श्रेष्ठ, विश्लेषक विश्व सिग्देल, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, साहित्यकार डा ईश्वरमणि अधिकारी, दीपक समीप, लक्ष्मण थापा, गनेस पौडेल, रिता अधिकारी, अल्पज्ञानी, निष्प्रभ सजीलगायतको उपस्थिति थियो । 
    (((

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij