काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस आज बिहान २ः५० बजे हेम्जा सईखेतमा पल्टिँदा ७ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा बागलुङको तमानखोला गाउँपालिका वडा नं। ३ तमान बस्ने २५ वर्षीया रीता घर्ती, म्याग्दीको मालिका गाउँपालिका वडा नं.५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी र ४६ वर्षीया सुमित्रा फगामी छन् ।
यसैगरी म्याग्दीकै मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ वर्षीय नरबहादुर पुन र सोही ठाउँकी ६५ वर्षीया कृष्ण कुमारी पुन पनि घाइते भएका छन् । घाइतेहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बस चालक म्याग्दीको बेनी नगरपालिका वडा नं.६ बस्ने ३२ वर्षीय राजकुमार गैरेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।