सङ्घीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाइने

सङ्घीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाइने

बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • सङ्घीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाइने

    काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी देशका विभिन्न सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवगृह निर्माण तथा क्षमता विस्तार गर्ने भएको छ ।

    मन्त्रालयका अनुसार १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येकमा एकैपटक कम्तीमा ५० वटा शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण गरिनेछ ।

    यसअन्तर्गत कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शवगृह निर्माण तथा क्षमता विस्तारको प्रक्रिया अघि बढाइनेछ ।

    त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण वा क्षमता विस्तार गरिने मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विगतका विपद्का क्रममा शव व्यवस्थापनमा देखिएका कठिनाइ तथा पछिल्लो भोटेकोशी बाढीमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमै पर्याप्त क्षमताको शवगृह आवश्यक रहेको बताएकी छिन् ।

    विपद्बाट प्राप्त सिकाइका आधारमा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालमा आवश्यक पूर्वाधार विकास गर्न लागिएको उनको भनाइ छ ।

    मन्त्रालयका अनुसार शवगृह निर्माण तथा क्षमता विस्तारले विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता सुदृढ गर्नुका साथै शव व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित, मर्यादित र वैज्ञानिक बनाउन सहयोग पुग्नेछ । साथै फरेन्सिक तथा मेडिको–लिगल सेवा विस्तारमा समेत यसले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij