काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोका कारण पोखरा–सिक्लेस सडक अवरुद्ध भएको छ भने पहिरो र लेदोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
कास्कीको मादी गाउँपालिका–१ स्थित पदुखोला क्षेत्रमा पहिरो खस्दा पर्यटकीय गाउँ सिक्लेस जाने पोखरा–सिक्लेस सडक शुक्रबार रातिदेखि अवरुद्ध भएको हो ।
मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेका बेला खिलाङ र पार्चेबीचको पदुखोला क्षेत्रमा पहिरो खसेको हो । पहिरोले मादी गाउँपालिकाको पहलमा निर्माण गरिएको पदुखोलाको रेलिङ तथा ढलानमा समेत क्षति पुगेको उनले बताए ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन आवश्यक समन्वय भइरहेको वडाध्यक्ष गुरुङले जानकारी दिए । सडक खुलाउन आवश्यक उपकरणका लागि स्थानीय हाइड्रोपावरसँग समन्वय भइरहेको र आवश्यक परे पोखराबाट प्राविधिक तथा उपकरण ल्याएर पहिरो पन्छाउने तयारी गरिएको उनले बताए ।
सडक खुलाउन केही समय लाग्न सक्ने भएकाले सिक्लेस जाने पर्यटकलाई आइतबारसम्म यात्राको योजना नबनाउन आग्रह गरिएको छ ।
यता, वर्षासँगै लेदो र पहिरो खस्दा अवरुद्ध बनेको बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी–सिरुवारी खण्ड र सुकेबगर क्षेत्रमा पहिरो पन्छाएर एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार शुक्रबार रातिदेखिको वर्षाका कारण सडकका विभिन्न स्थानमा लेदो र पहिरो खसेर यातायात अवरुद्ध भएको थियो ।
आयोजनाको पहलमा पहिरो पन्छाएपछि शनिबार बिहानदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको उनले बताए । विभिन्न सञ्चारमाध्यममा सडक अझै अवरुद्ध रहेको भ्रामक सूचना आइरहेको उल्लेख गर्दै यात्रुहरूलाई आधिकारिक जानकारीका आधारमा मात्र यात्रा गर्न शर्माले आग्रह गरे ।