भक्तपुर । भक्तपुरको खौमा रहेको इन्दायणी द्योछें (देवता घर) पुनर्निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिका–२ मा रहेको ऐतिहासिक देवता घरको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एक समारोहबीच उदघाटन गरे ।
उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायका अनुसार कुल रु तीन करोड ७६ लाखमा देवता घरको पुनर्निर्माण सम्पन्न भएको हो । भक्तपुर नगरपालिकाबाट रु दुई करोड ७६ लाख र चन्दादाताबाट रु ६३ लाख ९४ हजार सङ्कलन गरिएको उनले बताए । त्यस्तै, करिब रु १७ लाख बराबरको भौतिक सहयोग तथा हजारौँ स्थानीयको श्रमदानबाट पुनर्निर्माण कार्य सम्पन्न गर्न योगदान पुगेको अध्यक्ष रायले उल्लेख गरे।
मन्दिरको नियमित मर्मतसम्भारका लागि रु २० लाखको छुट्टै अक्षयकोष स्थापना गरिएको थियो । प्रत्येक वर्ष कम्तीमा एक पटक मन्दिरको मर्मतसम्भार गर्ने उद्देश्यले उक्त कोष स्थापना गरिएको र कोषमा थप सहयोग जुटाउने क्रम जारी रहेको उपभोक्ता समितिका सचिव कृष्णश्वरी हाडाले बताए ।
मन्दिरको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले जनप्रतिनिधिहरुले इमान्दारिताका साथ काम गर्नुपर्ने बताए । उनले जनताको रकम एक पैसा पनि हिनामिना हुन दिन नहुने बताए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बागमती प्रदेशसभाका सदस्यद्वय सुरेन्द्रराज गोसाई र सृजना सैंजू, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानाङ्ग, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालगायतले ऐतिहासिक मन्दिरको महत्वबारे चर्चा गरे ।