भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्वस्थ वृद्धावस्था र उमेरमैत्री समुदाय निर्माणका क्षेत्रमा गरेका अभ्यासहरू अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ । स्पेनको सान सेबास्टियनमा जारी तेस्रो विश्व उमेरमैत्री सहर तथा समुदाय महासम्मेलनमा नगर प्रमुख जीवन खत्रीले नेपालको तर्फबाट चाँगुनारायणको अनुभव बाँडेका हुन् ।
विश्व स्वास्थ्य संगठन तथा स्पेन सरकारअन्तर्गत जेष्ठनागरिक तथा सामाजिक सेवा संस्थानको निमन्त्रणामा नगर प्रमुख खत्री र सहारा परियोजनाकी संयोजक उमा थापा सम्मेलनमा सहभागी भएका छन् । जुन १५ देखि १८ सम्म सञ्चालन हुने सम्मेलनमा विश्वका विभिन्न देशका उमेरमैत्री सहर तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

सम्मेलनअन्तर्गत आयोजित नगर प्रमुखहरूको विशेष मञ्चमा नगर प्रमुख खत्रीले स्वस्थ तथा सक्रिय वृद्धावस्थाको प्रवद्र्धनका लागि चाँगुनारायण नगरपालिका र सहारा परियोजनाले सञ्चालन गरेका कार्यक्रम तथा उपलब्धिबारे प्रस्तुति दिएका थिए । उक्त सत्रमा नेपालका तर्फबाट खत्रीसहित ब्राजिल, जर्मनी र स्पेनका प्रतिनिधिहरूले आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।
प्रस्तुतीका क्रममा नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकालाई विश्व स्वास्थ्य संगठनको उमेरमैत्री सहर तथा समुदायहरूको विश्वव्यापी सञ्जालमा आबद्ध हुन प्रेरणा, मार्गदर्शन र सहयोग प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठन तथा स्विस रेडक्रसप्रति आभार व्यक्त गरे ।
महासम्मेलनको अर्को महत्वपूर्ण सत्रमा सहारा परियोजनाकी संयोजक उमा थापाले परियोजनाका उपलब्धि, सिकाइ र असल अभ्यासहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त प्रस्तुतिमार्फत नेपालमा स्थानीय तहको नेतृत्वमा सञ्चालन भइरहेका स्वस्थ वृद्धावस्था प्रवद्र्धन तथा उमेरमैत्री समुदाय निर्माणका प्रयासहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष परिचित गराइने जनाइएको छ ।

चाँगुनारायण नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्विस रेडक्रसको सहकार्यमा सञ्चालन भइरहेको सहारा परियोजनाले जेष्ठनागरिक मैत्री, समावेशी तथा स्वस्थ समुदाय निर्माणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । परियोजनाको मुख्य उद्देश्य चाँगुनारायणलाई जेष्ठनागरिक मैत्री र स्वस्थ समुदायको नमूना नगरपालिकाका रूपमा विकास गर्नु रहेको छ ।
महासम्मेलनमा चाँगुनारायण नगरपालिकाको सक्रिय सहभागिताले नेपालको स्थानीय तहमा विकसित भएका उमेरमैत्री अभ्यास, स्वस्थ वृद्धावस्था प्रवद्र्धन तथा समुदायमुखी सेवाका नमूनाहरूलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको सहभागीहरूले बताएका छन् ।
महासम्मेलनको उद्घाटन सत्रमा डोनोस्टिया–सान सेबास्टियनका नगर प्रमुख जोन इन्साउस्ती, स्पेनको वृद्ध तथा सामाजिक सेवा संस्थानकी महानिर्देशक मायते सान्चो, स्पेनी नगर तथा प्रान्त महासंघका महासचिव लुइस मार्टिनेज–सिक्लुना तथा सामाजिक अधिकारसम्बन्धी राज्य सचिव मारिया रोसा मार्टिनेजले सम्बोधन गरेका थिए ।