वैशाख २४ गतेदेखि गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन महोत्सव

वैशाख २४ गतेदेखि गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन महोत्सव

मंगलवार, बैशाख १५ २०८३
मंगलवार, बैशाख १५ २०८३
  • वैशाख २४ गतेदेखि गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन महोत्सव

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित हनुमान चोकमा तेश्रो गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८३ संचालन हुने भएको छ। नयाँ वर्ष २०८३ सालको अवसर पारेर औद्योगिक शान्ति नेपाल संस्थाले वैशाख २४ गते देखि जेठ ९ गते सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित हनुमान चोकमा तेश्रो गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८३ संचालन गर्न लागेको हो । 

    उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य सामाग्रीको प्रदर्शनी एवम् सर्वशुलभ मुल्यमा बिक्रि वितरण गराउने उदेश्यले मेलाको आयोजना गरिने भएको हो । स्थानीय प्रतिभाको खोजी गर्ने मुख्य उदेश्यका साथ बृहत् औद्योगिक व्यापार महोत्सव आयोजना गर्न लागिएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष शन्दिप महतले बताए ।

    मेलामा औद्योगिक उत्पादनको प्रदर्शनी, सुचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, अटोमोबाईल तथा विद्युतीय उपकरण र कृषि औजार प्रदर्शनी, मोबाईल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी, लत्ताकपडा तथा भाँडाकुडाको बिक्री वितरण गरिने भएको छ । त्यसैगरी पर्यटन संग सम्बन्धित गतिविधिहरु प्रदर्शनीमा रहने छन। 

    करिव दुई लाखले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा एशियाकै उत्कृष्ट बाल उद्यान, रोटे पिङ, ड्रागन, ट्रेन, रेन्जर, नाउ तथा बच्चाका खेलौनाहरु, विभिन्न किसिमका खाना महोत्सव, दैनिक रुपमा ख्याति प्राप्त स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने अध्यक्ष महतले जानकारी दिए । अध्यक्ष महतका अनुसार, मेलाकै अवसरमा प्रथम गोकर्णेश्वर डान्स आईडल समेत आयोजना गरिने भएको छ । 

    प्रतियोगिताको संयोजन शिखर छहारी सांस्कृतिक कला केन्द्रले गर्नेछ। महोत्सवको आकर्षणका रुपमा मुख्य प्रवेश द्वार लण्डन ब्रीज रहने छ। एक सय २० स्टल रहने महोत्सवमा स्थानीय उत्पादन, महिला उद्यमी हरुका लागि गोकर्णेश्वर नगरपालिकाबाट सिफारिस भएर आएका स्थानीय उत्पादन, सीप एवम् कलाका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ। 

    छिमेकी नगरपालिका तथा आसपासका जिल्लाका वासिन्दाले समेत लाभ लिन सक्ने महोत्सवको प्रवेश शुल्क सर्वसाधारणका लागी एक सय र विद्यार्थीका लागि ५० रुपैया तय गरिएको छ। जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँच वर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष महतले बताए । महोत्सवकै अवसरमा जेठ ८, ९ र १० गते विशेष कन्सर्टको आयोजना गरिने बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij