काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल (बागमती प्रदेश)ले जोखिमयुक्त क्षेत्रबाट उद्धार गरिएका नागरिकलाई अस्थायी बसोबास उपलब्ध गराउन सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौंको थापाथलीलगायत विभिन्न जोखिम क्षेत्रबाट सरकारले उद्धार गरेका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको जनाएको हो । संघका अध्यक्ष दामोदर नेपालका अनुसार बागमती प्रदेश अन्तर्गत काठमाडौं जिल्लाभित्र रहेका विभिन्न होटलहरूसँग समन्वय गरी समस्यामा परेका नागरिकलाई अस्थायी आश्रयस्थल उपलब्ध गराउने व्यवस्था मिलाउन सकिनेछ ।
‘उद्धार गरिएका नागरिकहरूको सुरक्षा र तत्कालको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित आवास उपलब्ध गराउने हाम्रो स्पष्ट प्रतिबद्धता रहेको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघले यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय गरी व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको पनि जनाएको छ । संघले आफ्नो संस्थागत गतिविधिसँगै सामाजिक उत्तरदायित्व बहनका कार्यमा समेत सक्रिय रूपमा संलग्न हुँदै आएको जनाएको छ ।
