काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान आजदेखि सुरु भएको छ । बागमती र मनोहरा नदी किनारका अतिक्रमित क्षेत्र खाली गराउन सरकारले थापाथलीबाट डोजर चलाउन थालेको हो ।
बिहान साढे ८ बजेदेखि थापाथली क्षेत्रमा डोजर परिचालन गरिएको छ भने टेकु, तीनकुने, सिनामंगल तथा मनोहरा करिडोर क्षेत्रमा पनि आज र भोलि बस्ती हटाउने तयारी गरिएको छ । यसअघि सरकारले अतिक्रमित संरचना हटाउन हिजो बेलुकीसम्मको समयसीमा दिएको थियो ।
समयसीमा सकिनुअघि केही परिवारले आफ्ना सरसामान अन्यत्र सारिसकेका छन् । तर, जाने निश्चित स्थान नभएका धेरै परिवार अझै खुला आकाशमुनि बसिरहेका छन् ।
बस्ती हटाउने कार्यका लागि शहरी विकास मन्त्रालय र सडक विभागका डोजर तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रभावितमध्ये अशक्त, अपाङ्गता भएका, बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा र दीर्घरोगीलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको सरकारले जनाएको छ ।
प्रारम्भिक व्यवस्थापनका लागि विस्थापितहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राखिनेछ, जहाँ उनीहरूको विवरण सङ्कलन र स्क्रिनिङ गरिनेछ । तीन पुस्तासम्म घरजग्गा भएका परिवारको पहिचान गरी उनीहरूलाई घर फर्काइने बताइएको छ भने वास्तविक पीडितलाई सरकारी आश्रयस्थलमा स्थानान्तरण गरिनेछ ।
काठमाडौं महानगरपालिकाले विस्थापितहरूको खाना, स्वास्थ्य, शिक्षा तथा हेरचाहको जिम्मेवारी लिने जनाएको छ । नागार्जुन नगरपालिका–इचंगुनारायणमा निर्माण गरिएको २३० परिवार अट्ने भवनमा उनीहरूलाई बसोबास गराउने तयारी छ । त्यहाँ बस्ने परिवारलाई फोटोसहितको परिचयपत्र वितरण गर्ने योजना पनि बनाइएको छ ।
सरकारले बस्ती खाली भइसकेपछि थापाथलीलगायत क्षेत्रमा भत्किएका संरचना हटाउने र ट्र्याक खोल्ने काम तत्काल अघि बढाइने जनाएको छ ।