गोरखा । गोरखा नगरपालिकाले विपद्लगायत अन्य दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगरपालिकाले नगरक्षेत्र स्थायी बसोबास रहेका नागरिक विपद्मा परी मृत्यु भएमा, घाइते तथा अङ्गभङ्ग भएमा राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।
नगरपालिका विपद् व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गर्दै नगरपालिकाले बालीनालीको क्षति, पशु मरेमा, घर, गोठ, टहरा पूर्णरुपमा क्षतिग्रस्त भएमा वा आंशिक क्षति भएमा पनि पीडितलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने व्यवस्था गरेको हो ।
स्वीकृत कार्यविधि अनुसार विपद्को घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ तथा घाइते वा अङ्गभङ्ग भएमा त्यस्ता व्यक्तिलाई रु १५ हजार उपलब्ध गराइनेछ । विपद्बाट नगरपालिकाभित्रका कुनै नगरवासीको पक्की घर पूर्ण क्षति भएमा २५ हजार रुपैयाँ, आंशिक क्षति भएमा १५ हजार रुपैयाँ, कच्ची घर पूर्ण क्षति भएमा २० हजार रुपैयाँ र आंशिक क्षति भएमा १० हजार रुपैयाँ राहतस्वरुप प्रदान गरिने नगरप्रमुख रानामगरको भनाइ छ ।
विपद्बाट पक्की गोठ वा टहरा पूर्ण क्षति भएमा १० हजार रुपैयाँ, आंशिक क्षति भएमा ७ हजार रुपैयाँ, सामान्य टहरो पूर्ण क्षति भएमा ८ हजार रुपैयाँ, सामान्य क्षति भएमा ५ हजार रुपैयाँ, घरको आँगन, पर्खाल, कर्सा वा अन्य क्षतिभएमा ३ हजार रुपैयाँ, आगलागीबाट परालको टौवा क्षति भएका बढीमा रु १० हजारसम्म राहत दिने व्यवस्था कार्यविधिले गरेको छ ।
कार्यविधिमा नगरपालिकाले कृषिबाली तर्फ हुने क्षतिमासमेत किसानलाई राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । “खाद्यान्न र तरकारीबाली, फलफूल तथा अन्य बालीनालीको क्षति भएमा प्राविधिकलागत अनुमानका आधारमा बढीमा २० हजार रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराइने छ”, उनले भने, “विपद्मा परेर पशुपक्षी तथा मत्स्यतर्फ पनि कार्यविधिले क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।”
नगरपालिकाले स्वीकृत गरेको कार्यविधिमा विपद्बाट भैँसी, गाईगोरुमा मरेमा प्रतिगोटा बढीमा १० हजार रुपैयाँ, भेडाबाख्रा, बङ्गुर तथा सुङ्गुर मरेमा बढीमा ५ हजार रुपैयाँ, व्यावसायिक दता गरी सञ्चालनमा रहेका फार्ममा क्षति भएका २० हजार रुपैयाँ तथा गोठखोर क्षति पुगेमा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति रकम उपलब्ध गराउने उनले बताए ।
कार्यविधि स्वीकृत भएसँगै शनिबार चितवनको इन्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर मुत्यु भएका गोरखा नगरपालिकाका पाँच जना मृतक र एक जना बेपत्ता भएका व्यक्तिको परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी तत्काल राहत उपलब्ध गराउने निर्णय पनि भएको नगरप्रमुख रानामगरले जानकारी दिए ।