तीन सातामा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि........

तीन सातामा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि........

आइतवार, चैत्र १८ २०८०
आइतवार, चैत्र १८ २०८०
  • तीन सातामा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि........

    कास्की । मादी गाउँपालिका–१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन् । लिपेयानीस्थित नारायणप्रसाद बरालले सञ्चालन गरेको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन सातामा निमोनियाका कारण मरेका हुन् । 

    बरालले पछिल्ला २० दिनमा अधिकांश बाख्रा मरेर खोर रित्तै भएको र अहिले तीन वटामात्र बाँकी रहेको जानकारी दिए। बाख्रामा सुरुआतमा घाँस, दाना, पानी नखाने, सिगान बगाउने लगायतका लक्षण देखा परेको बताइन्छ । 

    सुरुआतमा गत पुसमा केही बाख्रा बिरामी भएपछि औषधि गरेर निको भए पनि अहिले पछिल्लो दुईदेखि तीन सातामा सबै बाख्रा मरेको बरालले बताए । “सुरुमा पुस अन्तिमतिर केही बाख्राले नाकबाट सिगान बगाउने, घाँसपानी नखाने, झोक्रयाउने भएपछि गाउँपालिकाका पशु प्राविधिकलाई बोलाएर उपचार गरेपछि ठीक भएका थिए”, बरालले भने, “तर अहिले पुनः पहिलाकै समस्या देखियो  र बीस दिनमा सबै बाख्रा मरे ।”

    बरालले बाख्रा मर्न थालेपछि प्राविधिकलाई बोलाएर उपचार गर्दासमेत कम नभएको बताउनुभयो । पशु प्राविधिकले रोग पत्ता लगाउनका लागि ल्यावमा परीक्षण गर्दा क्रोनिक निमोनिया पुष्टि भएको थियो । थप क्षति हुन नदिनका लागि इन्जेक्सन लगाएको भए पनि काम नगरेको बरालले बताए। बरालले रोगका कारण ठूलो सङ्ख्यामा बाख्रा मरेपछि अनुमानित रु डेढ करोड क्षति पुगेको उल्लेख गरे । 

    बरालले केही बाख्रोको बीमा गरेपनि तीन महिनाभन्दा साना पाठापाठीको नभएको जानकारी दिए । पेसाले शिक्षक बरालले विसं २०७४ देखि व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय गर्दै आएको थियो । बाख्रासँगै उहाँले कुखुरापालन गर्नुभएको छ । बरालले गत वर्ष बाख्रापालनबाट रु ३८ लाखको आम्दानी गर्नुभएकामा यसवर्ष रु ५० लाखको बिक्री गर्ने योजना बनाउनुभएको थियो । 

    “सानो उमेरदेखिनै कृषि गर्ने चाहनाले बाख्रा र कुखुरा पाल्न सुरु गरेँ । अहिले एकाएक सबै सकियो, ठूलो क्षति हुँदा धेरै पीडा भएको छ”, बरालले भने । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले मरेका पशुको प्रयोगशालामा ल्याएर थप परीक्षण भइरहेको जानकारी दिए । 

    हालसम्म निमोनियाका कारणले क्षति पुगेको भए पनि अन्य कारणसमेत खोजी भइरहेको पाण्डेले बताए । “विज्ञ केन्द्रमा समेत ढिला गरी जानकारी आएको थियो । त्यसपछि हामीले रोग नियन्त्रणका लागि केन्द्रबाट र प्रयोगशालाबाट समेत पशु चिकित्सकलाई पठाएर परीक्षण गरेका हौँ । धेरै ढिला भएकाले उपलब्धि भएन”, उनले भने ।

    सो वडाका अध्यक्ष कृष्णराज दाहालले बरालद्वारा सञ्चालित बाख्रा फार्म पालिकाकै नमुना भएको भन्दै उक्त क्षतिले आफूहरुलाई समेत दुखित बनाएको बताए । पीडित किसानलाई राहतका लागि पालिका, प्रदेश सरकार लगायतसँग पहल गरिने दाहालले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij