इरानमाथि इजरायलको हवाई हमला

इरानमाथि इजरायलको हवाई हमला

शनिवार, फाल्गुण १६ २०८२
शनिवार, फाल्गुण १६ २०८२
  • इरानमाथि इजरायलको हवाई हमला

    काठमाडौं । इजरायलले इरानको राजधानी तेहरानसहित विभिन्न सहरलाई लक्षित गर्दै आक्रमण गरेको छ । इजरायली रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै इरानबाट हुन सक्ने क्षेप्यास्त्र हमलाको जोखिमलाई ध्यानमा राख्दै पूर्व–तयारीस्वरूप आफूहरूले कारबाही गरेको जनाएको छ ।

    इजरायलका अनुसार इरानले आक्रमणको तयारी गरिरहेको सूचनापछि सम्भावित खतरा निष्क्रिय पार्न अग्रिम प्रहार गरिएको हो । यस घटनामा अमेरिका पनि संलग्न रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

    गत वर्ष जुलाईमा इजरायल–इरानबीच तनाव चर्किँदा अमेरिकाले इरानका तीन प्रमुख आणविक केन्द्रमा शक्तिशाली जिबियू–५७ बम प्रहार गरेको थियो । अमेरिकाले ती संरचना पूर्ण रूपमा ध्वस्त पारिएको दाबी गरे पनि त्यहाँ पुनः परमाणु गतिविधि सुरु भएको सार्वजनिक भएपछि वासिङ्टनले इरानमाथि दबाब बढाउँदै आएको थियो ।

    ओमान र जेनेभामा पटक–पटक कूटनीतिक वार्ता भए पनि सहमति नजुटेपछि अमेरिकाले मध्यपूर्वका विभिन्न स्थानमा आफ्नो सैन्य उपस्थिति विस्तार गरेको थियो ।

    हालसम्म आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको कार्यालय नजिकै पनि विस्फोट भएको जनाइएको छ । घटनापछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको इरानी पक्षले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij