काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा लाकुछेँ धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा चैत्र २६ बोडे लायकुमा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना हुने भएको हो ।
आज पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिइएको हो । मेलाका संयोजक दिल कृष्ण प्रजापतिका अनुसार, कार्यक्रममा ४० टोलीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । प्रतियोगितामा भाग लिनेले चैत्र २४ गतेसम्म आवेदन दिनु पर्ने व्यवस्था गरिएको जनाइएको छ । आवेदन फाराम आयोजक समितिको सचिवालय वा मध्यपुर थिमि नगरपालिकाको कार्यालय तथा वडा कार्यालयमा उपलव्ध गराइने प्रजापतिले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार र शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ साथै शिल्ड तथा प्रमाणपत्र तथा सान्त्वना पुरस्कारस्वरुप नगद १० हजार रुपैयाँ दिइने प्रजापतिले बताए । प्रतियोगिताको निर्णायक भने संगीतको सिद्धान्तबारे अध्ययन गरेकालाई राखिने आयोजकले जनाएका छन् ।
स्थानैपिच्छे नेवारी धुनका शैली फरक हुने र स्थानीय निर्णयक राख्दा आफ्नो क्षेत्रकालाई प्राथमिकता दिन सक्ने सम्भावना हुने कारण स्थानीय निर्णायक नराखिने आयोजकले जनाएका छन् । संस्कृति मेलामा धिमे बाजा प्रतियोगिता मात्र नभइ विभिन्न प्रदर्शनीहरु समेत गरिने भएको छ ।
मेलामा मध्यपुरको परम्परागत र रैथाने उत्पादनहरु तथा मौलिक नेवारी खानेकुराको २५ वटा स्टल रहने आयोजकले जनाएका छन् । मेलामा स्थानीय खानेकुरालाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिनि फूड फेस्टिबल’ समेत रहने आयोजकको भनाई छ । मेलामा स्थानीय धिमे गुठीका थकाली, जिब्रो छेड्ने व्यक्ति लगायतलाई सम्मान समेत गरिने आयोजकले जनाएका छन् ।
प्रतियोगिता संचालनका लागि १० लाख रुपैया आवश्यक पर्नेमा छ लाख रुपैया नगरपालिकाले प्रदान गर्ने निर्णय भएको बताइएको छ । बााकी रकम समेत नगरपालिकालाई सहयोग गर्न आग्रह गरिएको मेला संयोजक प्रजापतिले बताए ।