हेटौँडा । मकवानपुरको भीमफेदीको जुरीखेतमा भएको टाटा सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको जिप आइतबार साँझ दुर्घटनामा पर्दा थप तीनजना घाइते भएका छन् ।
हेटौँडा काठमाडौँ राजमार्गमा अन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटनाग्रस्त भएको ना१ज १७७८ नम्बरको टाटा सुमोमा ६ पुरुष, १ महिला, १ बालिका र १ बालक यात्रारत थिए । जसमध्ये ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकहरूको नाम खुलेको छैन । तीब्र गतीमा चलेको जीप अनियमित भएर सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको बताइएको छ । सबै घाइतेलाई उद्धार गरेर हेटौँडा ल्याइएको थियो ।
उपचारका क्रममा छ जनाको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । तीन जनाको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।