रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

शुक्रवार, चैत्र ९ २०८०
शुक्रवार, चैत्र ९ २०८०
  • रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

    राँझा । निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ ।

    बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई दु्रत गतिमा अगाडि बढाउन कठिनाइ भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताए । “शाखा नहर निर्माण क्षेत्रका किसानलाई दिनुपर्ने मुआब्जावापतको रकम ५८ करोड ८९ लाख रुपैयाँ आवश्यक छ, तर चालु वर्षमा १३ करोड ४० लाख मात्रै बजेट प्राप्त भएको छ”, निर्देशक निरौलाले भने । 

    अहिले आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पर्ने गुरुवा गाउँ, पर्सेनीपुर, अकलघरुवा, गोहवालगायत स्थानमा धमाधम शाखा नहर निर्माण भइरहेको छ । शाखा नहर निर्माण क्षेत्रका किसानलाई करिब ५८ करोड ८९ लाख रुपैयाँ मुआब्जा रकम बाँड्नुपर्ने भएको छ । “सबै कागजी प्रक्रिया पूरा भए पनि पर्याप्त बजेट नहुँदा किसानलाई मुआब्जा रकम वितरण गर्न सकिएको छैन”,निर्देशक निरौलाले भने । 

    चालु आर्थिक वर्ष २०८०/२०८१ का लागि सरकारले आयोजनालाई ७५ करोड ४८ लाख रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये मुआब्जाका लागि १३ करोड ४० लाख रुपैयाँ मात्र छुट्याइएको आयोजनाका सूचना अधिकारी इञ्जिनियर सन्देश पौडेलले बताए ।

    “आयोजनाको निर्माणाधिन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको ३३ हजार ७ सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिव नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ”,सूचना अधिकारी पौडेलले भने,“आयोजनाको सुरु अवधिदेखि हालसम्म समष्टिगत भौतिक प्रगति ४०.२२ प्रतिशत र वित्तीय प्रगति ३९.३८ प्रतिशत भएको छ ।”

    बाँकेको राप्ती सोनारी गाउँपालिका –२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो । २०६२/६३ मा सुरु भएको आयोजना पछिल्लो संशोधित गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य छ । संशोधित गुरुयोजना अनुसार आयोजनाको लागत ५२ अर्ब ८९ करोड रुपैयाँ हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij