काठमाडौं । उत्तरपश्चिम क्यानडाको युकोन टेरिटोरीमा शनिबार शक्तिशाली ७ म्याग्निच्युडको भूकम्प गएको छ, जसलाई पछिल्ला वर्षहरूमा देशमा मापन भएका सबैभन्दा ठूला भूकम्पमध्ये एक मानिएको छ।
स्थानीय समय अनुसार दिउँसो १ः४१ बजे आएको भूकम्पको केन्द्रबिन्दु युकोनको ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिमतिर रहेको थियो। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो।
मुख्य झट्कापछि तीन घण्टाभित्र कम्तीमा ३३ वटा पराकम्पन आए, जसमा सबैभन्दा ठूलो ५।१ म्याग्निच्युडको रहेको बताइएको छ। हालसम्म कुनै ठूला भौतिक वा मानविय क्षतिको रिपोर्ट आएको छैन, तर ह्वाइटहर्सका धेरै बासिन्दाले सामाजिक सञ्जालमार्फत भूकम्पको हल्का–बल्का कम्पन महसुस भएको बताएका छन्।
यो भूकम्प क्यानडाको भूमिमा पछिल्लो ७९ वर्षयता गएको सबैभन्दा ठूलो भूकम्प हो। यसअघि ७ वा सोभन्दा ठूलो भूकम्प १९४६ मा भ्यान्कुभर आइल्याण्डमा मापन गरिएको थियो। क्यानडामा अहिलेसम्म अभिलेख गरिएको सबैभन्दा ठूलो भूकम्प सन् १७०० को जनवरीमा ९ म्याग्निच्युडको थियो, जसको केन्द्रविन्दु ब्रिटिस कोलम्बियाको समुद्री क्षेत्र बाहिर रहेको थियो।
शनिबारको भूकम्प उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा परेको हो — २०१५ मा अर्थक्वेक्स क्यानडाले गरेको विश्लेषणले पनि त्यही क्षेत्रलाई जोखिमयुक्त भनेर पहिचान गरेको थियो।