काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार सम्पन्न अभ्यास वान डे खेलमा साउथ अस्ट्रेलियालाई हराउँदै महत्वपूर्ण जित हात पारेको छ ।
साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमै ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका कप्तान रोहित पौडेलले अविजित १०१ रनको शान्दार पारी खेल्दै टोलीलाई जितसम्म पुर्याए । १६१ रनमै ८ विकेट गुमाएको कठिन अवस्थामा पौडेल र सोमपाल कामीले अर्धशतकीय साझेदारी गर्दै टीमलाई संकटबाट उकासे । सोमपाल ४० रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलिया ४५ ओभरमा २४२ रनमै अलआउट भएको थियो । उसको लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन, दुवित हूगानबोजमले ५३ रन, रायन किङले ३५ रन र म्याकेन्जी हार्भेले २४ रन बनाए ।
बलिङतर्फ नेपालका नन्दन यादव र सोमपाल कामीले समान ३–३ विकेट हात पारे भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले एक–एक विकेट लिए ।
टप एन्ड टी–२० सिरिजमा ११ टोलीमध्ये आठौं स्थानमा रहेको नेपालले त्यसपछिको अभ्यास टी–२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो भने साउथ अस्ट्रेलियासँग पराजित भएको थियो । यसपटक भने कप्तान पौडेलको शतकले टोलीलाई ऐतिहासिक जित दिलाएको हो ।