चितवनमा भेटियो दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’

चितवनमा भेटियो दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’

बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • चितवनमा भेटियो दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’

    चितवन ।  चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ भेटिएको छ । यही साउन २० गते दिउँसो १२ः३० बजे चितवन राष्ट्रिय निकुञ्जको गेट अगाडि रहेको वन क्षेत्रमा नेपालका लागि अतिदुर्लभ मानिएको पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अर्थात् जिनास्पा टोडरा अभिलेख गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनोजशान्त घिमिरेले बताए ।
     
    उक्त पुतलीलाई सौराहाका अनुभवी नेचर गाइड रोजन सुवेदीले पहिलोपटक देखेपछि, मिलन तामाङ, विशाल लामा, वासु विडारी तथा पुतली विज्ञ टेकबहादुर गुरुङको टोलीले पहिचान गरी विस्तृत अध्ययनका लागि आवश्यक विवरण सङ्कलन गरेका थिए । पुतली पहिचानमा पोखराबाट साजन केसी, नेदरल्याण्डका विज्ञ पिट भान पोल, सुरेन्द्र परियार र चितवनका टेकबहादुर गुरुङसहितको विशेषज्ञ टोलीको सहकार्यमा पुष्टि गरिएको घिमिरेले जानकारी दिए ।

    यो प्रजातिको पहिलो अभिलेख सन् १९७४ मा मकवानपुरमा पुतली बाजे भनेर चिनिएका कोलिन स्मिथले गर्नुभएको थियो  । ५१ वर्षयता नेपालमा पुनः देखिएको यो दोस्रो अभिलेख हो, जुन चितवनको जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताइएको छ ।
     
    हालसम्म नेपालमा करिब ६९२ प्रजातिका पुतली अभिलेख भएका छन् भने चितवनमा मात्रै ३०० भन्दाबढी प्रजातिका पुतली छन् । यो नयाँ अभिलेखले चितवनको जैविक सम्पदा थप समृद्ध बनाएको जनाइएको छ । यसले सौराहा क्षेत्रका प्रकृतिप्रेमी, नेचर गाइड र अनुसन्धानकर्ताका लागि प्रेरणा जगाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij