काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो ।
नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।
नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।