काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दैछ । स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ। यो श्रृङ्खलाको अन्तिम खेलका रूपमा नेपाल आज नेदरल्यान्ड्ससँग उच्च मनोवलसहित खेल्ने छ ।
यस श्रृखलामा नेपालले चार अङ्क जोडेको छ। नेदरल्यान्ड्स भने अघिल्ला दुवै खेलमा पराजित भएसंगै यो श्रृङ्खलामा अंकविहिन हुन पुगेको छ । पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।
तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो। नेदरल्यान्ड्सले भने स्कटल्यान्डसँग पनि हार व्यहोरेको छ । हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएको एकदिवसीय अन्तर्राष्ट्रियमा ६ खेल भएका छन् जसमा ३ खेलमा नेपालले जित निकालेको छ भने नेदरल्यान्ड्सले पनि ३ खेल जितेको छ।
जारी श्रृङ्खलामा २२ खेल खेलिसकेको नेदरल्यान्ड्सले १२ जित, ८ हार र दुई खेल रद्धहुंदा २६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ। नेपालले भने १५ खेल खेलबाट ४ जित, ९ हार र २ खेलमा अङ्क बाँड्दै १० अंक जोडेको छ । नेपाल अंक तालिकाको सातौं स्थानमा रहेको छ।