अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
    मन्थली । अन्तरजातीय विवाह गर्ने १४ जोडीलाई रामेछापमा सम्मान गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस २०८२ को अवसर पारेर बुधबार राष्ट्रिय दलित पत्रकार सङ्घले ती जोडीलाई सम्मान गरेको हो । 
     
    अन्तरजातीय विवाह गर्ने रामचन्द्र विक र प्रतिभा बोहोरा, पवन रसाइली र अनिता मगरलगायत जोडीलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले खादा, नगद र प्रशंसापत्रसहित सम्मान गरेका थिए । त्यस अवसरमा बोल्ने अधिकांश वक्ताहरूले सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको १८ वर्ष पूरा भइसके पनि समाजमा विभेद कायमै रहेको बताए ।
     
     यसको कार्यान्वयन र व्यावहारिक पक्षका लागि सबैको सहयोग आवश्यक रहने पनि उनीहरूको भनाइ थियो । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रामेछापका अध्यक्ष नवराज विकले समाजमा व्याप्त जातीय विभेद तथा छुवाछूतलाई निस्तेज गर्नका लागि अन्तरजातीय विवाह गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने जोडीलाई सम्मान गरिएको बताए । सम्मानितमध्ये अन्तरजातीय विवाह गर्ने रीता खड्काले पवित्र प्रेम र सम्बन्धका अगाडि सामाजिक बन्धन बाधक बन्न नहुने भन्दै आफूहरूले खुसीले नै त्यसलाई चुनौती दिएको बताइन । 
     
    सम्मानित भएकी अनिता मगरले पनि परिवार र समाजका बन्धनबाट माथि उठेर विवाह गरेको तर माइती पक्षले अझै स्वीकार गर्न नसकेको भन्दै दुखमनाउ गरिन । “अन्तरजातीय विवाहले हामी त खुसी छौं तर मेरो माइतीसँगको सम्बन्ध भने टुट्यो । उहाँहरूले स्वीकार्नु भएको छैन, यही कार्यक्रममार्फत मेरो माइतीको सम्बन्धलाई पनि सुमधुर बनाई दिन मेरो आग्रह छ”, उनले भनिन् । 
     
    अन्तरजातीय विवाह गरेकी प्रतिभा बोहोराले अन्तरजातीय विवाह गर्दैमा गल्ती गरेको सम्झन नहुने बताउँदै भनिन्, “समाजले नराम्रो भन्दैमा केही असर पर्दैन, सबैभन्दा ठूलो कुरा त आफूखुसी हुनुपर्छ । अरुको खुसीका लागि आफ्ना खुसीहरूलाई कतिदिनसम्म दबाएर राख्ने ?”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij