काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले लगातार दोस्रो जित निकालेको छ । आरिफ शेखले ७८ रनको शानदार पारी खेलेपछि नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको हाे ।
नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । आरिफले ९९ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७८ रन बनाए । यो उनको करियरकै उच्च स्कोर हो ।
उप कप्तान दिपेन्द्रसिंह ऐरीले अविजित ३८, कुशल भुर्तेलले २५ तथा कप्तान रोहित पौडेलले २३ रन बनाएका थिए । गुल्शन झाले विजयी छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे ।
नेदरल्याण्ड्सका माइकल लेभिटले २ तथा भिभियन किङमा र पल भान मिकेरनले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ राेजेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा समेटिएको थियाे ।
नेदरल्याण्ड्सका मध्यक्रमका ब्याटर नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए भने कप्तान स्कट एड्वार्ड्सले ४६ रन जाेडेका थिए । त्यस्तै विक्रमजित सिंहले ३८ र रोलफ भान डर मर्वेले २१ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ९.१ ओभरमा ४८ रन खर्चंदै ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २ विकेट लिए ।
जितसंगै नेपालकाे १४ खेलबाट १० अंक भएको छ । नेपालले सोमबार सम्पन्न पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराएको थियो । अब नेपालले जुन ८ मा स्कटल्याण्डकाे सामना गर्नेछ ।