काठमाडौं । आईपीएल २०२५ को फाइनल खेल हुने भएको छ । रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किंग्स आईपीएल उपाधिका लागि भिड्दै छन् । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने खेल साँझ ७ः४५ बजेदेखि शुरु हुनेछ। यी दुई टोलीमध्ये एकले उपाधि चुम्दा यस पटक नयाँ च्याम्पियनका रूपमा आफूलाई उभ्याउनेछन् ।
बेंगलुरु चौथो पटक र पञ्जाब दोस्रो पटक आईपीएलको फाइनलमा पुगेका हुन्। बेंगलुरु यसअघि २००९, २०११ र २०१६ मा फाइनलमा पराजित भएको थियो भने पञ्जाबले २०१४ मा आफ्नो एक मात्र फाइनल गुमाएको थियो। आईपीएलमा पञ्जाब र बेंगलुरुबीच हालसम्म ३६ वटा खेल खेलिएका छन् ।
जहाँ दुवैले १८–१८ खेल जितेर बराबरीको प्रतिस्पर्धा देखाएका छन्। यस सिजनको क्वालिफायर–१ मा पनि यी टोली भिड्दा बेंगलुरुले ८ विकेटले जित हात पारेको थियो। यस सिजनमा यी दुई टोलीबीच यो चौथो खेल हुन लागेको हो । अघिल्ला तीन खेलमा दुईमा बेंगलुरु र एकमा पञ्जाबले जित हात पारेका थिए । पञ्जाबका लागि कप्तान श्रेयस अय्यर शीर्ष स्कोररका रूपमा उदाएका छन्। उनले १६ खेलमा ६०३ रन बनाएका छन्।
उनले क्वालिफायर २ मा मुम्बईविरुद्ध पनि अविजित ८७ रनको महत्वपूर्ण पारी खेलेका थिए। बलिङतर्फ, अर्शदीप सिंह १६ खेलमा १८ विकेट लिएर टोलीका सर्वाधिक विकेट लिने खेलाडीका रुपमा रहेका छन्। बेंगलुरुको ब्याटिङमा विराट कोहलीले १४ खेलमा ८ अर्धशतकसहित ६१४ रन बनाएका छन्।
अर्का ओपनर फिल सल्टले उत्कृष्ट सुरुवात दिँदै आएका छन् भने देवदत्त पडिक्कल र मयंक अग्रवालले मध्यक्रममा उतकृष्ठ खेल्दै आएका छन्। कप्तान रजत पाटिदार पनि नम्बर ४ मा प्रभावकारी साबित भएका छन्। आरसीबीका फिनिसरहरू जितेश शर्मा, रोमारियो शेफर्ड र टिम डेभिड पनि उत्कृष्ट लयमा छन्, जसले शीर्ष क्रम असफल हुँदा पनि महत्वपूर्ण योगदान दिएका छन्।
पछिल्ला सिजनहरूमा बेंगलुरुको कमजोरी मानिने बलिङ यस पटक सशक्त देखिएको छ। भुवनेश्वर कुमार, जोश हेजलवुड र यश दयालको त्रिमूर्तिले डेथ ओभरको समस्या समाधान गरेका छन्। हेजलवुडले यस सिजन २१ विकेट लिएका छन् भने भुवीले १५ र यश दयालले १२ विकेट लिएका छन्।
नरेन्द्र मोदी स्टेडियमको पिच ब्याट्सम्यानहरूलाई सहयोग पुर्याउने प्रकृतिको छ। यहाँ आइतबार खेलिएको क्वालिफायर २ मा पञ्जाबले २०४ रनको लक्ष्य पछ्याएको थियो, जसले गर्दा आजको फाइनल पनि उच्च स्कोरको खेल हुने अपेक्षा गरिएको छ। यस मैदानमा खेलिएका ४३ वटा आईपीएल खेलमध्ये पहिले ब्याटिङ गर्ने र दोस्रो इनिङ्समा ब्याटिङ गर्ने दुवै टोलीले सामान खेल जितेका छन् ।
अहमदाबादको मौसम खेलका लागि अनुकूल नहुन सक्छ। कंगलबार दिउँसो घाम लागे पनि बादल रहने र वर्षाको ६२ प्रतिशत सम्भावना रहेको छ। यदि फाइनलमा वर्षाले बाधा पुर्याएमा १२० मिनेटको अतिरिक्त समय दिइनेछ। त्यो समयमा पनि खेल हुन नसकेमा रिजर्भ डे अर्थात् जेठ २२ गते हुनेछ । सो दिन पनि खेल हुन नसके दुवै टोलीलाई विजेता घोषणा गरी ट्रफी बाँडिनेछ।