काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखलाको पहिलो खेलमा नेपालले कीर्तिमानी जित निकालेको छ । नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित गरको हो ।
स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य पछ्याएको नेपालले एक बल बाँकी छँदा ९ विकेटको क्षतिमा जित निकालेको हाे । नेपालकाे जितमा करण केसी नायक बने । उनले ४१ बलमा अविजित ६५ रन बनाए ।
त्यसअघि नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ रन बनाए । गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ रन जाेडेका थिए । याे जितसंगै नेपालले एकदिवसीय क्रिकेटमा सबैभन्दा उच्च रनको लक्ष्य पूरा गर्दै खेल जित्ने कीर्तिमान बनाएको छ ।
यसअघि नेपालले क्यानडासँग २८७ रनको लक्ष्य पूरा गर्दै खेल जितेको थियो । स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले १० ओभरमा ४७ रन दिएर ३ विकेट लिए । ज्याक जार्भिस र माइकल लिस्कले २-२ तथा जास्पर डेभिडसन र मार्क वाटले १-१ विकेट लिए ।
टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियाे । स्कटल्याण्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाए ।
टियरले ७२ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरे । यस्तै फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाए ।
नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ४३ रन दिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १० ओभरमा ६६ तथा रिजन ढकालले १० ओभरमा ७८ रन खर्चेर २-२ विकेट लिए । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।
जितपछि नेपालको लिग २ मा १३ खेलमा ८ अंक भएको छ र अंकतालिकामा आठौंबाट सातौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ ।