भक्तपुर । ‘जेसुम’ नामक पुस्तकको १७ गते शनिबार मध्यपुर थिमीमा विमोचन गरियो । कविता र चित्रकलाले भरिएको जेसुमको विमोचन प्रधानमन्त्री केपी ओलीकी पत्नी राधिका शाक्यले गरेकी थिइन् । उनलाई प्रथम महिला तथा लेखिका (करुणा नामक पुस्तक) भन्दै प्रमुख अतिथिको रुपमा आसन ग्रहण गराईएको थियो ।
कला, संस्कृति र चेतनाको उडान भर्दै अभियानका रूपमा सात बर्ष अघि आएको ‘जेसुम’ को पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीकी जीवनसंगिनी तथा सामाजिक अभियन्ता शाक्यले भनिन्, ‘समाजलाई सकारात्मक दिशातर्फ लैजाने जेसुमको अभियान प्रशंसनीय छ । सृजनात्मकताको मलजल गर्दै समाजमा उदाहरणीय बन्ने यो यात्राले नेपाली समाजलाई गहिरो सन्देश दिएको छ ।’
प्रमुख अतिथी शाक्यले जेसुमको सात वर्षे यात्रा आफ्नो आँखै अगाडि बढेको बताउँदै नेपालजस्तो विविधतामा धनी देशमा मौलिकता र रैथाने चेतनाको संरक्षण अत्यावश्यक रहेको धारणा राखिन् ।
पुस्तक विमोचन कार्यक्रममा एउटा भिडियो रिपोर्ट प्रस्तुत गरियो । जसको विषय थियो, ‘जेसुम’ले एक दिन मध्यपुर थिमीमा विताउँदाको सक्रियता । उनीहरुको सृजनात्मकता । भिडियो देखाएपछि पुस्तकमा समेटिएका कवि तथा अकविहरुले कविता वाचन गरेका थिए ।

थिमी घुमे, थिमी उतारे — जेसुम टोलीको पदयात्रा
पुस्तक विमोचनको सन्दर्भमा जेसुम टोली केही दिनअघि मध्यपुर थिमी आइपुगेको थियो । समृद्ध मध्यपुर समाज, नेपालका तर्फबाट संयोजनकर्ता तथा पूर्वमेयर मदनसुन्दर श्रेष्ठले तीन घण्टाको विशेष पदयात्रा गराएर थिमीको सम्पदागत सौन्दर्य प्रस्तुत गरेका थिए ।
मदनसुन्दर श्रेष्ठले आफ्नो कार्यकालमा थिमीलाई सम्पदामा धनी नगर बनाएका थिए । मठ, मन्दिर, फल्चा, पाटी–पौवा र पुराना गल्लीहरू पुनःनिर्माण गर्दै उनले सम्पदा संरक्षणमा छुट्टै पहिचान बनाएका छन् । साथै संखधर साख्वाँ प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले पनि अभियानमा खुलेर साथ दिएका थिए ।
‘जेसुम’ केवल पुस्तक होइन, एक अभियान हो — सीमान्त आवाजको सम्मान, मौलिक संस्कृतिको पुनःस्थापना र नयाँ चेतनाको सर्जना ।’ ‘जेसुम’की परिकल्पनाकार तथा संयोजक अनिता लामाको निश्कर्ष यस्तै थियो । विमोचन कार्यक्रमको सञ्चालन कवि फूलमान बलले गरेका थिए ।
समयका चालहरूलाई हेर्दै, ‘जेसुम’ सृजनात्मक यात्राको यात्रु बनिरहेको छ — यात्रामा पदयात्रा छ, संवाद छ, अभिव्यक्ति छ ।
मध्यपुर थिमिको प्राचीन सम्पदाबीच पुस्तक विमोचन भएको यो कार्यक्रम एउटा सांस्कृतिक पुनर्जागरणको संकेतजस्तै थियो । यस्तो लाग्थ्यो, थिमीका गल्लीले जेसुमको पदचाप बोकेको दिन थिमीको आत्माले फेरि एकपटक फूलेको अनुभूति गरेको थियो ।

‘जेसुम’ के हो ? मध्यपुर थिमीमा जेसुम के हो ?
‘आफै स्रष्टा, हाम्रो आफ्नै विम्ब, प्रतीक र कथा’ भन्ने घोषणापत्रसहित अघि बढेको ‘जेसुम’ नामले नै सीमान्त संस्कृतिको प्रतिनिधित्व गर्छ । तामाङ भाषाबाट लिइएको यो शब्द आफैंमा एक सांस्कृतिक विम्ब हो, जसले विविधता, मौलिकता र सकारात्मक चेतनाको सन्देश दिन्छ ।
अभियानले नवउदारवादी दबाबबीच रैथाने चेतनालाई नयाँ उचाइमा पु¥याउने संकल्प लिएको छ । सांस्कृतिक पुनर्जागरण, स्थानीय सम्पदाको प्रवद्र्धन, मौलिक कलाको संरक्षण, वैकल्पिक विचारको संप्रेषण — यी सबै जेसुमका विचारदृष्टि हुन् ।
यस पुस्तकमा ‘जेसुम’ मा लेख, विचार, अनुभूति र घोषणापत्र समावेश गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको कविता समेत समावेश गरिएको छ । स्मरणरहोस् उक्त कविता ओलीले ‘जेसुम’ अभियानकै क्रममा चन्द्रागिरीमा लेखेका थिए । पुस्तकमा मध्यपुर थिमीका पूर्व मेयर मदन सुन्दर श्रेष्ठले लेखेको कविता पनि समावेश छ ।
मध्यपुर थिमीमा ‘जेसुम’ नामक पुस्तकको प्रकाशक, समृद्ध मध्यपुर समाज, नेपाल रहेको छ भने प्रकाशन संयोजन समाजका संरक्षक मदनसुन्दर श्रेष्ठले गरेका थिए । नेपाली तथा नेवारी भाषामा रहेको यो पुस्तकको आवरण दिपेन्द्रमान बनेपालीले सिर्जेका थिए ।
