काठमाडौं । कपिलवस्तुमा आगलागीमा परेर एकै घरका दाजु बहिनीको ज्यान गएको छ । खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा जिल्लाको शुद्धोदन गाउँपालिकाको जयनगरमा १८ वर्षीय सोनम यादव र उनका भाइ शिवकुमार यादवको मृत्यु भएको हो ।
सोनमको उपचारका क्रममा र शिवकुमारको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उनीहरू नेपाल राष्ट्रिय उच्च मावि मुडफुटवाका विद्यार्थी हुन् ।आइतबार साँझ ग्यास लिक भएर आगलागी हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट गम्भीर घाइते भएका उनीहरुलाई युनिभर्सल मेडिकल कलेज, भैरहवामा उपचारका लागि पठाइएको थियो। सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोनम कक्षा १० मा अध्ययनरत थिइन् । उनको मृत्युपछि विद्यालयले आज शोक बिदा दिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।