काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्ससँग ३३ रनको हार बेहोरेको छ, जुन यस सिजनको उनीहरूको चौथो हार हो ।
पहिले ब्याटिङ गरेको लखनउले २ विकेट मात्र गुमाउँदै २० ओभरमा २३५ रनको विशाल योगफल तयार गर्यो । मिचेल मार्शले शानदार ११७ रनको शतकीय इनिङ्स खेले भने निकोलस पूरनले अविजित ५६ रन थपे। गुजरातका अर्शद खान र आर साइ किशोरले एक–एक विकेट लिए ।
२३६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन मात्रै बनाउन सक्यो । शाहरुख खानले ५७ रन बनाए पनि टोलीलाई जितको नजिक पुर्याउन सकेनन् । अन्य योगदानमा शेरफन रदरफोर्डले ३८, कप्तान शुभमन गिलले ३५, जस बट्लरले ३३ र साइ सुदर्शनले २१ रन जोडे ।
लखनउका बलरहरूमध्ये विलियम ओ’रोर्कले ४ ओभरमा २७ रन दिँदै ३ विकेट लिए । आवेश खान र आयुष बदोनीले २-२ विकेट झारे भने शाहबाज अहमद र आकाश सिंहले एक–एक विकेट हात पारे ।
यो हारसँगै गुजरात १३ खेलमा १८ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ, तर शीर्ष दुईमा स्थान बनाउन अन्तिम खेल जित्नुपर्नेछ र पञ्जाब तथा बेंगलुरुमध्ये कुनै एक टिमले कम्तिमा एक खेल हार्नुपर्ने अवस्था छ । लखनउले १३ खेलमा १२ अंक जोडेको छ ।