काठमाडौं । मुम्बई इन्डियन्सले डिल्ली क्यापिटल्सलाई पराजितगर्दै आइपीएलको प्लेअफमा स्थान बनाएको छ । यो जितसंगै आइपीएलको प्लेअफ समीकरण पूरा भएको छ। बुधबार मुम्बईको वाङ्खडे स्टेडियममा भएको खेलमा मुम्बईले दिल्लीमाथि ५९ रनको जित निकाल्दै प्लेअफमा स्थान बनाएको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८० रन बनाएको थियो। मुम्बईले दिएको १८१ रनको विजय लक्ष्य पछाएको दिल्ली १८.२ ओभरमा अल आउट हुँदै १२१ रन मात्र बनाउँन सक्यो। दिल्लीका लागि समिर रिज्भिले सर्वाधिक ३९ रनको पारी खेले। उनले ३५ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका बलर जसप्रीत बुम्राह र मिचेल स्यान्टरले समान ३–३ विकेट लिए। ट्रेन्ड बोल्ट, दीपक चहार, विल ज्याक्स र कर्न शर्मालेसमान १ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको मुम्बईका लागि सूर्यकुमार यादवले उत्कृष्ट पारी खेले। उनले ४३ बलमा सात चौका र चार छक्कासहित ७३ रनमा अविजित रहँदै टिमका लागि सम्मानजनक योगफल बनाएका थिए।
ओपनिङमा आएका र्यान रिकेल्टोनले २५, विल ज्याक्सले २१, तिलक वर्माले २७ रन बनाउँदा नमान धीर २४ रनमा अभिजित रहे।दिल्लीका लागि बलिङतर्फ मुकेश कुमारले सर्वाधिक दुई विकेट लिए । दुश्मनथा चमेरा, मुस्ताफीजुर रहमान र कुलदिप यादवले समान १ विकेट लिए।
मुम्बईसँग पराजित हुँदै दिल्लीले आफ्नो प्लेअफ सम्भावना समाप्त भएको छ। यसअघि नै गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स ब्याङ्गलोर र पन्जाब किङ्स प्लेअफमा पुगिसकेका छन्। अब यी चार टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।