भक्तपुर । भक्तपुरमा ‘बागमती प्रदेशस्तरीय आमन्त्रण मेयरकप कराते प्रतियोगिता’ आयोजना हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सूर्यविनायक नगर सितोरियो कराते सङ्घले जेठ ९ र १० गते प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिता संयोजक रामशरण त्वातीले मेयरकप प्रतियोगितामा करिब १० स्थानीय तहका विभिन्न समूहको सहभागिता रहने जानकारी दिँए । उनका अनुुसार, भक्तपुर, मध्यपुर, चाँगुनारायण, सूर्यविनायक, बूढानीलकण्ठ, पनौती, बनेपा, चन्द्रागिरि, काठमाडौँ र गोदावरी नगरपालिकाका टिम सहभागि हुनेछन् ।
प्रतियोगितामा महिलातर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी र काता विधामा सात वटा छुट्टाछुट्टै प्रतिस्पर्धा गरिनेछ । त्यस्तै पुरुषतर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी र काता विधामा आठ वटा इभेन्टहरू आयोजना गरिने त्वातीले जनाकारी दिए ।
आयोजक सङ्घका अध्यक्ष कृष्णराम जाकीबञ्जारले हरेक तौल समूहका विजेता खेलाडीलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने बताए । उनका अनुुसार, समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई विशेष सम्मानस्वरूप ट्रफी प्रदान गरिनेछ । कातातर्फ पनि उत्कृष्ट प्रदर्शनका लागि पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।