काठमाडौं । भारत–पाकिस्तानबीचको तनावले स्थगित आईपीएलका खेल आजदेखि शुरु हुँदैछन् । अघिल्लो शुक्रबार बीसीसीआईको आकस्मिक बैठक बसेर आईपीएल एक साताका लागि स्थगित गरिएको थियो ।
पहिलो खेलमा शनिबार रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुनेछ । आईपीएलको प्लेअफ दौडबाट ३ टोली यसअघि नै बाहिरिएका छन् ।
प्लेअफ होडमा रहेका ७ टिममध्ये कोलकाता र लखनउको सम्भावना न्युन छ । पछिल्लो अंकतालिकामा गुजरात टाइटन्स १६ अंकसहित शीर्षस्थानमा छ । बेंगलुरु समान खेलमा समान अंकसहित दोस्रोमा छ । पञ्जाब किङ्स १५ अंकसहित तेस्रो र मुम्बई १२ खेलमा १४ अंकसहित चौथोस्थानमा छ ।
यस्तै दिल्ली १३ अंकसहित पाँचौँ, कोलकाता ११ अंकसहित छैटौँ र लखनउ १० अंकसहित सातौँ स्थानमा छन् । यस्तै हैदराबाद ७ अंकसहित आठौँ, राजस्थान ६ अंकसहित नवौँ र चेन्नई १२ खेलमा ६ अंकसहित १०औँ स्थानमा छन् ।