काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले अबको समयका लागि नेपाल क्रिकेट संघ (क्यान) मा अनुबन्धन नहुने घोषणा गरेका छन् । बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै निर्णय सार्वजनिक गरेका हुन् ।
‘धेरै सोचविचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन – यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो,’ सन्दीपले लेखेका छन् ।
सन्दीपले व्यक्तिगत तथा व्यावसायिक रूपमा आफूलाई अझ परिपक्व बनाउने उद्देश्यका साथ यस्तो कदम चालेको बताएका छन् । उनले क्यानप्रति आभार प्रकट गर्दै क्यानले आफ्नो करियरमा पुर्याएको योगदानको सराहना गरेका छन् ।
सन्दीपले जीवनलाई 'पुर्ण सम्भावनाहरूको यात्रा' भन्दै आगामी दिनहरूमा क्रिकेटसँगै अन्य क्षेत्रमा पनि आफूलाई फैलाउँदै लैजाने संकेत दिएका छन् ।
